बिहीबार, वैशाख १३, २०८१

नेपाल ट्रेड युनियन का‌ँग्रेस अस्तित्वविहीन हुँदै

नेपालखोज २०७७ असार १८ गते १०:०२
  • नेपालखोज व्यूरो,

काठमाडौं । नेपाली कांग्रेसको सवैभन्दा पुरानो र बढी सदस्य संख्या भएको भातृसंगठन नेपाल ट्रेड युनियन का‌ँग्रेसको अस्तित्व संकटमा परेको छ ।

ट्रेड युनियन ऐन २०४९ को दफा ५ को उपदफा ३ अनुरुप तात्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भई श्रम विभागमा दर्ता भएको रलामो इतिहास वोकेको ट्रेड युनियन का‌ँग्रेसको करीव २८ वर्षपछि अस्तित्व संकटमा परेको हो ।

संस्था भन्दा व्यक्तिवादी स्वार्थमा लागि परेको नेतृत्वका कारण अहिले ट्रेड युनियन का‌ँग्रेस अस्तित्व जोगाउन जोडबल गरिरहेको छ । नेपाल शिक्षक संघ, प्रेस युनियन, नेपाल वित्तिय कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ जस्ता २७ वटा राष्ट्रिय संघ यसमा आवद्ध छन् । जसमा ४ लाख २५ हजार १४ जना सक्रिय सदस्य रहेको भएपनि नेतृत्व पंक्तिले यसको अस्तित्व जोगाउन सकेको देखिएन ।

ट्रेड युनियन ऐनको दफा ७ बमोजिम प्रतिष्ठान स्तरको ट्रेड युनियन प्रत्येक दुई वर्षमा र ट्रेड युनियन संघ तथा महासंघ प्रत्येक चार वर्षमा नविकरण गरिसक्नु पर्ने प्रावधान रहेको छ । तर श्रम विभागमा दर्ता भएका १५ वटा ट्रेड युनियन महासंघ मध्ये नेपाल ट्रेड युनियन का‌ँग्रेसमात्र नविकरण भएको छैन ।

हरेक वर्ष स्वदेशी तथा विदेशी दातृनिकायहरुबाट करोडौं रुपैयाँ सहयोग लिएर सञ्चालन हुँदै आईरहेको यो संस्थाको २०७६ फागुन ३ गतेबाट नविकरण फेल भएको श्रम विभागको तथ्यांकमा देखिन्छ । तर नेपाल ट्रेड युनियन का‌ँग्रेसका अध्यक्ष पुष्कर आचार्यहरु भने तथ्यगत कुरालाई पनि स्वीकार गर्न तयार छैनन ।

ट्रेड युनियन ऐन २०४९ को दफा ९ ९२० उपनियम ९१० बमोजिम संस्थाको नविकरण अवधि सकिनु भन्दा तीन महिना अगावै ट्रेड युनियनले आफ्नो दर्ता प्रमाणपत्र नविकरण गराईसक्नु पर्नेछ । भने म्याद नाघेको मितिले तीन महिनासम्म नविकरण दस्तुरको पच्चीस प्रतिशत जरिवाना तिरी नविकरण गराउन सकिने उल्लेख गरिएको छ ।

तर ट्रेड युनियन का‌ँग्रेसले सो नियमलाई उल्लंघन मात्र गरेको होइन आफ्नो पुरानो संस्था जोगाउन श्रम विभागका महानिर्देशकलाई राजनीतिक दवाव दिने काम पनि गरिरहेका छन् । ट्रेड युनियन का‌ँग्रेसका अध्यक्ष पुष्कर आचार्य आफ्नो जीवनको कुनै समय पनि श्रममा संलग्न भएका व्यक्ति भने हाेइनन् । त्यस्ता व्यक्तिले ट्रेड युनियन का‌ँग्रेसको नेतृत्व गर्दाको परिणाम अहिले संस्था नै धरापमा परेको देखिन्छ ।
संस्था खारेजीको अवस्थासम्म पुग्दा पनि पदाधिकारीहरुलाई अत्तोपत्तो नभएको जस्तो गरेको देखिन्छ । सो विषयमा ट्रेड युनियन का‌ँग्रेस महासचिव योगेन्द्रकुमार कुँवर भन्छन्, ‘आफूहरुको नविकरण प्रक्रियाका लागि दर्ता गरिसकेकोले जसरी हुन्छ नविकरण गर्नु पर्दछ अन्यथा हामी अदालत जान्छौं ।’

प्रतिक्रिया