रसुवागढीबाट सोमबारदेखि आयात सुरु हुने
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि आयात सुरु हुने भएको छ । एक साताअघि नै नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले हिजोदेखि सामग्री लोड गर्न थालेको हो ।
सामग्री लोड हुन थालेको र सम्पूर्ण जाँचपासको प्रक्रिया पूरा गरेर चिनियाँ गाडी सोमबार रसुवागढी नाका आइपुग्ने रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो ।
नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिन जनाइएको छ । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने उनले बताए ।
यसअघि सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो ।
तर, चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रने सक्ने त्रासमा स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको थियो । नाका सञ्चालन नआउँदा साढे तीन महिनादेखि राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया