पार्टीभित्रको विवाद छलफलबाट समाधान माग गर्दै कार्यकर्ताको धर्ना
काठमाडौँ । पार्टीभित्र देखिएको अन्तरद्वन्द समाधान छलफलबाट मात्र गर्न माग गर्दै नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रिय सदस्यहरु सहित नेता कार्यकर्ताहरुले धर्ना दिएका छन् ।
आजबाट केही केन्द्रिय सदस्यहरुको सहभागिता सहित नेता तथा कार्यकर्ताहरुले जम्मा भएर दिउँसो १ देखि ४ बजेसम्म धर्ना थालेका हुन् । धर्ना हरेक दिन निरन्तर चल्ने केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।
धर्नामा जगन्नाथ खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, रामकुमारी झाक्री, दिलुकुमारी पन्त, हिमाल शर्मा, प्रेमल खनाल लगायतका केन्द्रिय सदस्य तीन दर्जन नेता कार्यकर्ताहरु सहित कार्यकर्ताहरु सहभागि रहेका छन् ।
धर्नामा बसेकाहरुले पार्टी भित्र चर्किएको अन्तरद्वन्द बैठक र छलफलबाटै समाधान गर्नु पर्ने, पार्टीको बिधी र प्रकृयाबाट समाधान निकाल्नु पर्ने लगायतका प्लेकार्ड बोकेका छन् । केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले पार्टी भित्र बढेको विवाद पार्टी भित्रै खुलस्त छलफल गरी समाधानमा जानु पर्ने बताए ।
प्रतिक्रिया