शनिबार, जेठ ४, २०८२

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको काम अगाडि बढ्ने

नेपालखोज २०७७ असार २० गते ६:३५

काठमाडौँ । नेपाली सेनाले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न भारतबाट विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सहमति दिएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव शर्माले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थ भारतबाट खरिद गर्न निर्माण कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ थापाले सुरुङ मार्ग निर्माण गर्न सडक विभागको समन्वयमा भारतबाट विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाबाट अनुमतिको काम अगाडि बढ्ने स्पष्ट पारे । विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति नपाउँदा सुरुङ मार्ग निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।

निर्माण कम्पनीले भारतबाट विस्फोटक पदार्थ खरिद गर्न गएको असोजदेखि सहमति माग गरेको थियो । सेनाबाट विस्फोटक पदार्थ खरिदको सहमतिसँगै सुरुङ मार्ग निर्माण कार्य अब बिना अवरोध अगाडि बढ्ने सडक विभागले जनाएको छ ।

थापाकाअनुसार पहिलो चरणमा तीन सय टन विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति प्राप्त भएको हो । उक्त सुरुङ मार्ग निर्माणमा करिब २० करोड रुपियाँ बराबरको नौ सय मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक देखिएको छ ।

अबको तीन महिनाभित्र भारतबाट विस्फोटक पदार्थ नेपाल आइपुग्ने उनले बताएका छन् । आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया