‘सरकारको कूटनीतिक कमजोरीका कारण खोप आउन सकेन’

नेपालखोज २०७८ असार २३ गते १५:०९

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिडविरुद्धको खोप आउन नसकेको आरोप लगाए ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रियसभा सदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा असफल भएको दाबी गरे ।

अपरिपक्क कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उनले गरे । दक्षिण एसियाको सन्र्दभमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको , भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्र्तगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिदै उनले सरकार किन फेल भयो ?’ भनी प्रश्न गरे ।

उनले भने ‘नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्ण रुपमा फेल भएको स्थिति छ । कुटनीतिक प्रयासहरु फेल भएकोे छ । यो कसरी भयो किन फेल भयो ? ती देश र ती कम्पनीहरु संगको नेपालको सम्बन्ध किन चिसो भयो ? नेपालको सरकारसंग किन डिल गर्न चाहेनन् । दक्षिण एसियाका ४ वटा देशहरुले ल्याउन सफल भए नेपालले ल्याउन सकेन ।

यो कुरा महसुस गर्ने कि नगर्ने ? यति कुरा भन्दैमा हामीलाई कुनै जनावरहरुसंग तुलना नगरियोस् । यो मेरो प्रश्न हो । फेल भएको हो कि होइन सरकार ? यो महसुस गर्ने कि नगर्ने ?’ राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंकित गर्दै उनले खोप किन आउन सकेन भनेर आफुले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गरे ।

ओलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गरेका थिए । उनले वर्तमान सरकार कमिसन एजेन्टहरुको घेराउमा परेको दाबी पनि गरे । उनले कमिसनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको दाबी गरे । कमिसन एजेन्ड पैसा नपाएको कारणले कोभिडशिल्ड खोप नआएको दाबी गरे ।

उनले भने ‘कोभिडसिल्डको १० लाख डोज खोप नआउनुको पछाडि पुर्व स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले भनिसक्नुभएको छ कमिसनको खेलको कारण । कमिसन एजेण्डहरुले अहिलेको सरकारलाई घेरिराखेको छ । मेरो आरोप त्यो छ ।’

उनले सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गरे । राष्ट्रियसभा सदस्य देवले कुटनीतिक असफलताका कारण नेपालले अन्तराष्ट्रिय विश्वसनियता गुमाइसकेको र अन्तत एउटा देशसंगको सम्बन्धमा गएर सिमित भएको दाबी गरे ।

परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको तहबाट देशका कार्यकारी प्रमुखलाई चिठी लेख्न सकिनेमा त्यसो हुन नसकेको बताए । उनले वैदेशिक नीतिको संञ्चालन कच्चा ढंगले गरेकाले नेपाल अहिले एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको दाबी गरे ।

उनले कोरोना महामारी विश्वव्यापी समस्या भएको भन्दै नेपाली कांग्रेसले रोकथाम, नियन्त्रण लगायत कार्यमा सहयोग गर्न सधै तयार रहेको बताउदै आएपनि सरकारले प्रतिपक्षी दलहरुसँग कहिलेही सहयोग नमागेको गुनासो गरे ।

प्रतिक्रिया