शुक्रबार, वैशाख १४, २०८१

ब्याज छुट नभए सडकमा उत्रने व्यवसायीको चेतावनी

नेपालखोज २०७७ असार २१ गते १५:१४

काठमाडौं । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन् । साना उद्योगी–व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सडक संघर्षको चेतावनी दिएको छ । विभिन्न ५ बुँदे माग अघि सार्दै आफ्ना मागहरु पुरा नभए सडकमा उत्रन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । करिब ३ महिना भएको पूर्ण लकडाउन र हालसम्म पनि जारी रहेको आंशिक लकडाउनका कारण उद्योग–व्यवसायहरु निकै अप्ठेरोमा परेको भन्दै तत्कालै ब्याज छुटको घोषणा गरिनुपर्ने महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक तथा वित्तीय क्षेत्रका संयोजक कुमार कार्कीले बताए ।

लकडाउन पूर्ण रुपमा नखुल्दै बैंकले ऋण तिर्न ताकेता गरेको भन्दै ऋण तिर्ने भाका पनि पर सार्नुपर्ने बताए । समस्यालाई सहज बनाउन राष्ट्र बैंकले केही प्रयास गरेको भएपनि पर्याप्त भने नभएको व्यवसायीको गुनासो छ ।

महासंघले लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट हुनुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सार्नुपर्ने, पुनःकर्जा कोषमा साना उद्योगी–व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गर्नुपर्ने र स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गर्नुपर्ने माग अघि सारेको छ ।

प्रतिक्रिया