बिहीबार, वैशाख १३, २०८१

महिलाका नाममा घरजग्गा स्वामित्व बढ्दै

नेपालखोज २०७७ असार २२ गते १७:४१

प्युठान । मालपोत कार्यालय प्युठानबाट चालु आर्थिक वर्ष ०७६/०७७ को फागुन मसान्तसम्ममा ५५० महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । सो अवधिमा जम्मा एक हजार ५१४ व्यक्तिले जग्गा पास गराउँदा ६० दलित महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । फागुन मसान्तसम्म एक हजार ५१४ जग्गा पास र धितो ७६२ गरेर जम्मा रु. एक करोड ४२ लाख ३६ हजार ११४ राजश्व संकलन भएको मालपोत कार्यालयका प्रमुख भोजबहादुर भण्डारीले बताए ।

महिला र दलितका हकमा रु. २२ लाख ८० हजार ४०८ राजश्वमा छुट भएको छ । रु. ३५ लाख ३६ हजार २ सय भने लाभकर संकलन भएको उनले बताए । कोरोना संक्रमणका समयमा सरकारले थालेको बन्दाबन्दी हुनुपूर्व गत चैत १ देखि १० गतेसम्म रजिष्टे«सन राजीनामा ४९ र धितो १९ गरी ६८ वटा भएको कार्यालय प्रमुख भण्डारीले बताए ।

सो अवधिमा महिला र दलित गरी २३ जनाले राजश्वमा छुट पाएको र रु. चार लाख २० हजार ९८९ राजश्व सङ्कलन भएको छ । महिला र दलितका हकमा रु. ९९ हजार २३६ राजश्वमा छुट भएको छ भने रु. तीन लाख ४८ हजार ६२६ लाभकर सङ्कलन भएको छ ।

सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै यही असार १ गतेदेखि मालपोत कार्यालय सञ्चालनमा आएको छ । अठार दिनका अवधिमा २१ महिला र दलितले आफ्नो नाममा घरजग्गा पास गराएका छन् । रजिष्ट्रेशन राजीनामा ३६ र धितो ४२ गरी ७८ कामबाट रु. पाँच लाख ३२ हजार ४९१ राजश्व संकलन तथा रु. एक लाख १२ हजार १९ महिला र दलितका हकमा राजश्व छुट भएको छ । रु. एक लाख ५० हजार ६७० लाभकर सङ्कलन भएको छ । बन्दाबन्दीका समयमा कोरोनाको त्रासले गर्दा खासै सेवाग्राही नआएको उनले बताए । सो अवधिमा बैंकको धितोको काममा सेवाग्राही बढी आएको उनको भनाइ छ ।

पछिल्लो समय महिला पनि सचेत एवं चनाखो बन्दै जाँदा र आफ्नो अधिकारको खोजी गर्ने क्रममा आफ्नो नाममा सम्पत्ति स्वामित्व गराउनेको सङ्ख्या बढ्दै जान थालेको हो । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढेको छ । महिलालाई घरजग्गा रजिष्ट्रेसन पास गर्दा २५ प्रतिशतसम्म छुट दिने र दलितले थप छुटसमेत पाउने कार्यालय प्रमुख भण्डारीले बताए ।

गत आर्थिक वर्ष २०७५/०७६ मा महिला ९२२, दलित महिला २५८, अपागंता महिला तीन र वृद्ध महिला दुई जनाले आआफ्ना नाममा घरजग्गा नामसारी गराएका थिए । सोबाट रु. दुई करोड ८५ लाख ४२ हजार आठ सय राजश्व संकलन भएको मालपोत कार्यालयले जनाएको छ ।
महिलाको हक कायम गराउन सरकारी दस्तूरमा छुट दिने व्यवस्थाले तिनका नाममा जग्गा पास गर्नेको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । यसअघि जिल्लामा महिलाका नाममा जग्गा पास गराउनेको सङ्ख्या न्यून थियो ।

पुरुष वैदेशिक रोजगारीमा जाने र विदेशबाट कमाएर पठाएको पैसाले महिलाले आफ्नो नाममा घर घडेरी किन्ने क्रमसमेत बढेको देखिन्छ । घरघडेरीको किनबेच नामसारी वा बकसपत्र र धितो पास महिलाका नाममा हुने क्रम बढेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया