बिहीबार, चैत ६, २०८१

शुल्क उठाउन नपाए अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयको चेतावनी

नेपालखोज २०७७ असार २३ गते ७:३७

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले शुल्क उठाउन नपाए अनलाइनलगायत वैकल्पिक कक्षा ठप्प पार्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएपछि सोमबारबाट कक्षा बन्द गर्ने घोषित कार्यक्रम भने प्याब्सन र एनप्याब्सनले स्थगित गरेका छन् ।

Advertisement

मन्त्रालयले केही दिन समय मागेपछि तत्कालका लागि वैकल्पिक कक्षा ठप्प पार्ने निर्णय रोकिएको निजी विद्यालय सञ्चालकहरूले बताए । शिक्षा मन्त्रालयले अनलाइन कक्षाको शुल्क उठाउन रोक लगाइसकेको छ ।

कतिपय निजी विद्यालयले भर्ना र मासिक शुल्क लिइरहेका छन् । प्याब्सन र एनप्याब्सनले न्यूनतम शुल्क उठाउनुपर्ने माग अघि सारेका हुन् । विद्यार्थीको अभिलेखीकरण गर्न पाउनुपर्ने र अनलाइन कक्षाबापत रकम उठाउनुपर्ने उनीहरूको माग छ । निजी विद्यालय सञ्चालकहरूले आर्थिक वर्ष २०७७/७८ को बजेटमा उपेक्षा गरिएको गुनासो पनि गर्दै आएका छन् । सहुलियत र राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरूको माग थियो । बजेटमा सम्बोधन नभएपछि उनीहरूले अभिभावकबाट शुल्क उठाउने वातावरण बनाउन लबिइङ गरेका हुन् । ‘नियमित खर्च धान्न कतै न कतैबाट स्रोत त चाहियो । सरकारले दिन सक्दैन भने अभिभावकबाट उठाउँछौं भनेका हौं,’ एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने । आइतबार निजी विद्यालय सञ्चालक र मन्त्रालयका प्रतिनिधिबीच वार्ता भएको थियो । मन्त्रालयले केही दिन समय मागेका कारण अनलाइन कक्षा बन्द गर्ने निर्णय स्थगित गरिएको उनले जनाए ।

सरकारले असार १ गतेदेखि विभिन्न पाँच माध्यमबाट वैकल्पिक कक्षा सञ्चालन गरेको छ । शिक्षकलाई तलब, घरभाडा, इन्टरनेट, विद्युत् खर्चका लागि आवश्यक पर्ने रकम अभिभावकबाट उठाएर बुझाउने उनीहरूको तर्क छ । सरकारले गत चैतको शुल्कसमेत छुट दिन आग्रह गरेको थियो । प्याब्सन र एनप्याब्सनले वैशाखको शुल्क छुट दिएर जेठदेखि अनलाइन कक्षाबापत शुल्क लिने तयारी गरेका हुन् । चैत महिनाको शुल्क अधिकांश अभिभावकले बुझाइसकेका कारण वैशाखको शुल्क छुट दिन आन्तरिक सर्कुलर गरिएको प्याब्सन अध्यक्ष टीकाराम पुरीले बताए । अधिकांश निजी विद्यालयहरूले चैतदेखि नै तलब नदिएको संस्थागत विद्यालय शिक्षक युनियनको गुनासो छ । याे समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया