बिहीबार, चैत १५, २०८०

नेताका घरदैलो चाहार्दै चिनियाँ राजदूत

नेपालखोज २०७७ असार २४ गते १७:०४

काठमाडौं । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरिरहेको करिव दुई तिहाईको सरकार ढाल्ने षडयन्त्रमा भारत लागिपरेको आरोप लगाए । ओलीको आरोप पश्चात भारतका सञ्चार माध्यमहरुले फरक ढंगले त्यसको विश्लेषण पनि गरे । करीव दुई तिहाईको वर्तमान सरकार नेपालको संविधान बमोजिम रहन्छ वा छिमेकी देशहरुले चाहेको बेलामा ढल्छ ? प्रधानमन्त्री ओलीको अभिव्यक्तिले नेपाल सरकार भारतको इशारामा चलिरहेको छ अर्थात भारतलाई चाहेको बेलामा सरकार निर्माण गरिदिने र उसलाई मन नपरेका बेला सरकार ढाल्ने गर्दछ भन्ने कुराको पुष्टि भएको छ ।

विगतमा भारत परस्तका नाममा धेरै नारावाजी हुने गरेको नेपाली राजनीतिमा अहिले प्रायः सवै दलहरुको आन्तरिक कलहका कारण एकले अर्कोलाई आरोप लगाउन भ्याएका छैनन । दलहरु आफूभित्रै मारामार गरिरहेका छन् । चाहे त्यो नेकपा होस् वा कांग्रेस वा मधेशवादी नै किन नहोस् । यसले नेपालको राजनीतिक नेतृत्व कति निर्लज्ज छ भन्ने कुराको थप उजागर पनि गरेको छ । विगतमा भारतका राजदूत वा नेताहरु नेपाली नेताहरुको घरमा भेट्न जाँदा निकै नै चर्चा र बहशका विषय बन्ने गर्दथे तर अहिले त्यस्तो परिस्थिति रहेन । जसले जुनसुकै बेला जोसँग भेटे पनि हुने जस्तै भएको छ, विशेष गरी राजनीतिक परिवेशमा ।

यतिखेर सरकार ढल्नेदेखि नेकपा फुट्नेसम्मको चर्चा र बहस चलिरहँदा नेकपादेखि मधेशी दलका नेताहरुको घरदैलो चार्हदै छिन चिनियाँ राजदूत यान्छी । पछिल्लो समय चिनियाँ राजदूत यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल समाजवादी फोरमका उपेन्द्र यादव लगायत नेताहरुको घरघरमा भेटिरहेकी छिन् । नेकपा फुटको संघारमा रहँदा चिनियाँ राजदूतको घरदैलो कार्यक्रमले नेकपा नफुट्ने हो त ? वा विगतमा जसरी भारतीय राजदूत पुग्थे त्यसैगरी अहिले चिनियाँ राजदूतले पालो लिएकी हुन् ? परराष्ट्रविद्हरु भन्छन यसरी राजदूतहरु नेताहरुको घरदैलो चार्हानु नेपालको कानून विपरित हो । यो नेपाली राजनीतिमा कसरी नाङ्गो हस्तक्षेप हुन्छ भन्ने उदाहरण हो । नेपालका राजनीतिक दलहरु जुट्ने र फुट्ने क्रममा विदेशीहरुको सहारा नै लिने गर्दछन्, आफू सक्षम छैनन् भन्ने कुराको पुष्टि क्रमश: गर्दै आईरहेको देखिन्छ । नेपालका नेताहरुले आफ्नो मर्यादालाई भुलेर नेपाली राजनीति र राष्ट्रियताका कतिपय सवालमा भारतीय राजदूतहरुसँग मुख खोल्नु पनि देशका लागि दूर्भाग्य नै हो ।

२०६२/६३ सालको आन्दोलन अघिसम्म राजनीतिक दलका नेताहरु यसैगरी नारायणहिटी धाउने गर्दथे । जसको परिणाम तात्कालिन राजा ज्ञानेन्द्र शाहले माघ १९ गते कु गरेका थिए । भविष्यमा पनि नेपाली नेताहरुको अर्कमण्यता र राष्ट्रियताका पक्षमा खुट्टा दरोसँग टेक्न नसक्दा हिजोको नारायणहिटीको शक्ति दिल्ली र वेइजिङ्ग तर्फ सर्दै गईरहेको भान हुन्छ । यदि त्यस्तो हो भने नेपाल राष्ट्र र राष्ट्रियको विषयमा डिङ्ग हाँक्ने बाहेक नेपाली नेताहरको अरु केही हुन सक्ला ? आफ्नो असक्षमता देखाईरहेका नेपाली राजनीतिक दलका नेतृत्वहरुले सोच्नु पर्ला कि नपर्ला ?

प्रतिक्रिया