शनिबार, वैशाख ८, २०८१

कोरोनाको कारण देखाउँदै सडक विभाग पन्छियो

नेपालखोज २०७७ असार २५ गते ११:१७

काठमाडौ‌‌। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले यस वर्ष कोरोना महामारीका कारण सकड निर्माणमा पनि असर परेको जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष सकिनै लाग्दा जेठ मसान्तसम्म जम्मा सडक निर्माणको काम ६१ प्रतिशत मात्रै सकिएको छ । १२ सय किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकोमा जम्मा ७३६ किलोमिटर सडकमात्रै कालोपत्रे सम्पन्न भएको छ । त्यस्तै ३ सय वटा पुल निर्माण गर्ने लक्ष रहेकोमा १६८ मात्रै जेष्ठ मसान्तसम्म सकिएको छ ।
त्यस्तै, कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण ५ सय किलोमिटर सडकको ट्रयाक खोल्ने लक्ष्य रहेकोमा त्यो पनि पुरा हुन नसकेको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरी सापकोटाको भनाई छ ।
विगतका वर्षहरुको तुलनामा यो समयमा धेरै काम सकिने भएता पनि यस वर्ष भने धेरै योजनाहरु पुरा नभएको भन्दै लकडाउनको समयमा केही स्थानमा मात्रै सडक निर्माणको काम भएको सापकोटाले उल्लेख गरे ।
लकडाउनको समयमा पनि सडक निर्माणले तिव्रता पाएको र सहज भएको भन्ने खबरहरु आए पनि सडक कालोपत्रेका लागि उपयुक्त समयमा लकडाउन हुँदा काम गर्न नपाएकोले सडक निर्माणको लक्ष्य पुरा हुन नसकेको उनले बताए ।
नेपालका सडकको कुल लम्बाइ ९६ हजार किलोमिटर पुगेको छ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७६÷७७ को फागुनसम्म ९५ हजार ७ सय २२ किलोमिटर सडक पुगेको उल्लेख गरेको छ । संघबाट निर्माण भएका रणनीतिक र स्थानीय सडक सञ्जालतर्फ कालोपत्रे सडक १५ हजार २ सय ५४ किलोमिटर रहेको छ । ग्राभेल सडक ९ हजार २ सय ५१ किलोमिटर र कच्ची सडक ९ हजार ८ सय ४२ किलोमिटर रहेको छ ।

प्रतिक्रिया