‘नेपाली राजनीतिमा बीपीको आदर्श, मूल्य-मान्यता अझै सान्दर्भिक’

काठमाडौं । आज भदौ २४ गते । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको १०८औं जन्मजयन्ती हो । जननेताका रुपमा लोकप्रिय राजनीतिज्ञ कोइरालाको जन्म जयन्तीका अवसरमा देशभरका साथै विदेशमा रहेका नेपालीहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन् । नेपालको प्रजातान्त्रिक विकासमा कोइरालाको योगदान अतुलनीय मानिन्छ ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो राजनीतिको मूलमन्त्र बनाएका कोइरालाले जीवनको उत्तरार्धमा राष्ट्रिय मेलमिलापको नीति अघि सारेका थिए । राष्ट्रियता संकटमा परेको भन्दै कोइराला भारतको निर्वासित जीवन त्यागेर २०३३ सालमा नेपाल फर्किएका थिए राष्ट्रिय मेलमिलापको नीति लिएर ।
कोइरालासँग निकट रहेर लामो समय काम गरेका वरिष्ठ पत्रकार होमनाथ दाहाल बीपीको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँछन् । पत्रकार दाहाल भन्छन्, ‘सन्दर्भ फेरिए पनि हाम्रो राष्ट्रियताप्रतिको खतरा उस्तै छ, तसर्थ अहिले पनि राष्ट्रियशक्तिहरुबीचको एकता उत्तिकै आवश्यक छ । नेपालको राजनीति परिवेशमा बीपीको आदर्श, मूल्य-मान्यता अझै पनि सान्दर्भिक छ ।’
वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाले राणा शासनविरुद्ध नेपालीहरुलाई संगठित अनि जागरुक गराउँदै नेपालमा प्रजातन्त्रको शंखघोष गरेका थिए । उनी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुका साथै नेपाली साहित्यमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भए ।
भारतको स्वतन्त्रता आन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिँदै प्रजातान्त्रिक समाजवादको सिद्धान्त अंगीकार गरेका कोइरालाले भारतको स्वतन्त्रता आन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए । उनले पहिले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे भने पछि गएर उक्त पार्टी नेपाली कांग्रेसमा रुपान्तरित भयो । कोइराला नेपाली कांग्रेसका संस्थापक नेता हुन् ।
वि.सं. २००३ सालमा विराटनगरमा मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालाको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो । सन् १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरेका थिए । त्यसपछि कोइरालाले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्रमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरेपछि उनले दार्जीलिङमा कानुन व्यवसायसमेत गरेका थिए ।
२०१५ मा भएको नेपालको पहिलो आमनिर्वाचनमा अत्यधिक सिट हासिल गर्दै कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका थिए । त्यतिबेला उनको नेतृत्वमा भएका कतिपय काम ऐतिहासिक तथा क्रान्तिकारी मानिएका छन् । तिनको उदाहरण अहिले पनि दिइन्छ । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सैनिक ‘कू’ गर्दै शासनसत्ता हातमा लिई एकतन्त्रीय शासन चलाउन थालेपछि बीपी कोइरालालाई बिनाकुनै मुद्दा आठ वर्ष कैदमा राखियो । प्रजात्रन्तका लागि राजासँग कहिल्यै नझुकेका कोइरालाले जेलबाट रिहा भएपछि भारत निर्वासित भई उतैबाट प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरे । उनी २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए ।
साहित्यकारका रुपमा समेत ख्याति कमाएका कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदी आइन्, हिटलर र यहुदी तथा बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् । दार्शनिक राजनीतिज्ञको छवि बनाएका कोइरालाका दोषी चश्मा र श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मवृतान्त अहिले पनि उत्तिकै पढिन्छ ।
लामो समयदेखि क्यान्सरसँग लड्दै आएका कोइरालाको २०३९ साउन ६ गते काठमाडौंमा निधन भएको थियो ।
कोइरालाका बारेमा विकिपेडियामा लेखिएको छ- प्रसिद्ध राजनीतिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता बीपी कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् ।
बीपीलाई कसरी सम्झने भन्ने प्रश्नमा वरिष्ठ पत्रकार होमनाथ दाहाल भन्छन्- उहाँ प्रजातन्त्रवादी, लोकतन्त्रवादी नेता तथा समाजवादी चिन्तक हुनुहुन्थ्यो । राष्ट्रवादी नेताका रुपमा उहाँ खोक्रो राष्ट्रवाद होइन जनताको विचारसहितको राष्ट्रवादको पक्षधर हुनुहुन्थ्यो । आजको नेपाल मात्र होइन भोलि, पर्सिको पुस्ताले पनि बीपीलाई मेलमिलापको नीतिका कारण सम्झनुपर्छ । किनभने अफगानिस्तानको हालैको घटना र अन्य राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिले नेपालमा लोकतान्त्रिक तथा राष्ट्रिय शक्तिहरुबीचको एकता अझ टड्कारो भएर गएको छ ।
वरिष्ठ पत्रकार होमनाथ दाहालसँग बीपीको सम्झनामा नेपालखोजले गरेको भिडियो कुराकानी यसै साथ हेर्न तथा सुन्न सक्नुहुन्छ ।

प्रतिक्रिया