बिहीबार, चैत १५, २०८०

पर्यटन व्यवसायीसँग छलफल कार्यक्रम
‘प्रधानमन्त्री राहत कोषको रकम घाँस काट्नलाई होइन’

नेपालखोज २०७७ असार २६ गते १५:५४

काठमाडौं । नेपाली कांग्रेस कोरोना अनुगमन समितिले पर्यटन व्यवसायीसँग छलफल गरेको छ । कोरोनाका कारण पर्यटन व्यवसायमा परेका समस्या तथा समाधानका विषयमा छलफल केन्द्रीत रह्यो ।

कार्यक्रम नेपाली कांग्रेसका वरिष्ठ नेता तथा कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा होटलका कर्मचारी जोगाउन भएपनि सरकारले विशेष व्यवस्था गर्न आवश्यक रहेको होटल एसोसिएसन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक साहले बताए । उनले पर्यटन क्षेत्रका लागि यथाशिघ्र स्वेतपत्र जारी हुनुपर्ने तथा सरकारले ल्याएको देशदर्शनको स्पष्ट खाका तयार गर्न नसक्दा अन्यौल थपिएको जिकिर गरे । प्रधानमन्त्री राहत कोषको रकम घाँस काट्नलाई होइन, पर्यटन क्षेत्रमा लगाउन उनले आह्वान गरे ।

यो महामारीको अवस्थामा कुनैपनि बहानामा ऋणमाथि ऋण थपिँदै जाँदा पर्यटन व्यवसायीहरु आत्महत्याको अवस्थामा पुग्न सक्छन् । बैंकले १ वर्ष जीरो आवरमा गएर बोनसको आस नगरेमा समस्याको समाधान हुने व्यवसायीले बताए ।

हिमाली क्षेत्र नेपालको सवैभन्दा बढी पर्यटक तान्ने र पर्यटकले धेरै खर्च गर्ने क्षेत्र हो, तर सरकारले उक्त क्षेत्रलाई उपेक्षा गरेको नेपाल पर्वतारोहण संघले आरोप लगाएको छ ।

कोरोना माहामारी सुरु भएपछि एअरलाइन्सको टिकट क्यान्सिल भएको र त्यस वापतको ३ अर्बभन्दा बढी रकम फिर्ता भएको छैन, त्यस विषयमा सरकारले कुनै पहल नगरेको व्यवसायीले आरोप लगाए ।

नेपाल ट्रेकिङ एसोसिएसन नेपाल (टान)का केन्द्रीय अध्यक्षले नीति तथा कार्यक्रममा सरकारले सौतेनी व्यवहार गरेको आरोप लगाए । सरकारले गफ मात्रै गर्यो, काम गरेन, हामी मर्न लाग्यौं अक्सिजन देऊ भन्दा पनि नदिएको गुनासो गरे ।

उनले पानी तथा बिजुलीको ऋण तिर्ने पैसा पनि नभएको तथा सरकारसँग २० लाख ऋण माग्दा पनि नपाएको दुखेसो पोखे ।

नेपालमा २७ वटा पर्यटनसम्वन्धी संस्था भएपनि उक्त कार्यक्रममा २३ वटाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया