मंगलबार, वैशाख ११, २०८१

अनलाइन कक्षा पुनः खोल्न अल्टिमेटम

नेपालखोज २०७७ साउन ३ गते ८:१८

काठमाडौं । विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको भन्दै संस्थागत विद्यालयहरुले बिहिबारदेखि अनलाइन कक्षा बन्द गरेसँगै निजी विद्यालयका शिक्षकहरुले त्यसको विरोध गरेका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियनले एक विज्ञप्ति जारी गर्दै बालिबालिकाको पढ्न पाउने अधिकारमा निजी विद्यालय संचालकले कुठाराघात गरेको आरोप लगाएको छ ।

करिब ६ महिनादेखि शिक्षक कर्मचारीहरुको तलब नदिएका निजी विद्यालयले हताहत शिक्षक कर्मचारीलाई वेतलबी बिदा दिएर घर–घर बस भन्दै गरिएको निर्णय आत्मघाती, निन्दनीय र घृणित भएको संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले बताए ।
निजी विद्यालयका शिक्षकहरुले विहिबारदेखि स्थगित अनलाइन कक्षा तीन दिनभित्र पुनः संचालन गर्न प्याब्सन र एनप्याब्सनलाई अल्टिमेटम बुझाएका छन् । यो तिन दिनभित्र आफूहरुले विभिन्न निकायहरुसंग लविङ गर्ने, त्यस पछि पनि निर्णय फिर्ता भएन भने केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने र सरकारी निकायहरुमा गएर धर्ना दिने अध्यक्ष थापाले बताए ।

चैत्र ११ गतेदेखि देशमा जारी लकडाउनले सम्पूर्ण शिक्षण संस्था ठप्प रहेर विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै सरकारले असार १ गतेदेखि वैकिल्पक कक्षा संचालन गर्न निजी विद्यालयहरुलाई अनुमति दिएको थियो । सोहिअनुरुप निजी विद्यालयहरुले विद्यार्थीहरुलाई अनलाईन कक्षामार्फत् शिक्षण गराइरहेका थिए ।

तर, विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको र शिक्षक कर्मचारीहरुलाई तलब दिन खुवाउन नसक्ने भन्दै संस्थागत विद्यालयहरुले हिजोदेखि भर्चुअल अनलाइ कक्षा बन्द गर्ने प्याब्सन, एनप्याब्सनले संयुक्त विज्ञप्तिमार्फत् जनाएको थियो ।
लकडाउनले पढाइ प्रभावित भएको बेला अनलाइन कक्षाले विद्यार्थीहरुलाई सिकाइको प्रक्रियामा जोडिरहेको बेला अनलाइन कक्षा नै बन्द गरेर बालबालिका माथि अन्याय भएको अध्यक्ष थापाले बताए ।

आफुले उठाएका मागप्रति सरकारले ध्यान नदिएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गरेर शिक्षक तथा कर्मचारीलाई वेतलबी बिदा दिएको छ । संस्थागत विद्यालयहरुले सरकारलाई थर्काउने र अन्दोलनका नाममा भर्चुअल अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको शिक्षकको आरोप छ । शिक्षकहरुलाई बेतलबी विदा दिनु नेपालको कानून, शैक्षिक नियम, श्रम ऐनविरुद्ध भएकाले आफूहरु देशव्यापी अन्दोलनमा उत्रिएको संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) झापाका अध्यक्ष हेमराज खतिवडाले बताए ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले शिक्षक कर्मचारीहरुलाई बेतलबी बिदा दिन नपाउने भन्दै निजी विद्यालयहरुको अनलाइन कक्षा बन्द गर्ने निर्णयको विरोध गरेका छन् । उनीहरुले अनलाइन कक्षा तीन दिनभित्र पुनः संचालन गर्न प्याब्सन र एनप्याब्सनलाई अल्टिमेटम बुझाइ सकेका छन् । यदि तिन दिनभित्र पनि निर्णय फिर्ता लिएन भने देशव्यापीरुपमा अन्दोलन गर्ने इस्टुको चेतावनी छ ।

प्रतिक्रिया