बिहीबार, चैत १५, २०८०

पूर्वसांसद गुरुङको निधनप्रति दुःख व्यक्त

नेपालखोज २०७७ साउन ३ गते १०:०३

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक सङ्‍घ का पूर्वअध्यक्ष एवं पूर्वसांसद मेजर दीपकबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन्।

पूर्वसांसद गुरुङको शुक्रबार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत गुरुङको निधनबाट काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

विसं १९९३ असार १० गते कास्कीको नार्माजुन गाविस-३ मा जन्मिएका गुरुङ ब्रिटिश आर्मीबाट रिटायर्ड मेजर थिए। उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडिसीको रुपमासमेत काम गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय काम गरेका थिए।

ब्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पुर्‍याएको योगदान र बलिदानको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनको उनी एक नेतृत्वकर्ता थिए। स्वर्गीय गुरुङ नेपाल भूतपूर्व सैनिक सङ्‍घको तीन कार्यकालसम्म अध्यक्ष रहेका र उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टीको सङ्‍गठनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ।

प्रतिक्रिया