बिहीबार, वैशाख ६, २०८१

झापामा अपराधका घटनामा कमी

नेपालखोज २०७७ साउन ५ गते १२:१९

झापा । झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/०७६ मा घटेर एक हजार ४६४ वटा मात्र मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा अपराधका घटनामा अझ कमी आई एक हजार १७० वटा मात्र मुद्दा दर्ता भएका छन् । तीमध्ये कर्तव्य ज्यान १३ र ज्यान मार्ने उद्योगका २७ वटा घटना छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पछिल्लो तीन वर्षमा झापामा घटेका चार हजार ३२१ घटनामध्ये तीन आर्थिक वर्षमा नै अभद्र व्यवहारका मुद्दा धेरै छन् । आर्थिक वर्ष २०७४/०७५ मा भन्दा २०७५/०७६ मा कूल मुद्दा दर्ता सङ्ख्या १३.२१ प्रतिशतले घटेको छ भने आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले मुद्दाको सङ्ख्या नै घटेको छ ।

आर्थिक वर्ष २०७४/०७५ भन्दा आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका मुद्दामध्ये अभद्र व्यवहारका मुद्दा ४५ प्रतिशत र आर्थिक वर्ष २०७६/२०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आर्थिक वर्ष २०७५/२०७६ को तुलनामा आर्थिक वर्ष २०७६/२०७७ मा लागुऔषधका मुद्दासमेत छ प्रतिशतले घटेको प्रहरीको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आत्महत्या, जबर्जस्ती करणी, सवारी ज्यान, मानव बेचबिखन, बहुविवाहलगायतका मुद्दा आर्थिक वर्ष २०७६/२०७७ मा कमी आएको प्रहरीले जनाएको छ । मुद्दा दर्ताको सङ्ख्यामा कमी आउनुको कारणमध्ये कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका लागि भएको लकडाउन, समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती, चेकजाँच, मानिसको चेतनाको स्तरमा वृद्धि, प्रहरीको सक्रियता आदि रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०७६/०७७ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै यो अवधिमा मेचीनगर नगरपालिकामा घटना घटेका छन् । मेचीनगरमा एक आर्थिक वर्षमा मात्रै २२० घटना घटेका छन् । त्यस्तै दमकमा १७४ र विर्तामोडमा १७३ वटा घटना घटेका छन् ।

त्यस्तै भद्रपुरमा १०१, अर्जुनधारामा ६०, शिवसताक्षीमा ५८, गौरादहमा ५७ र कनकाईमा ५४ घटना घटेका छन् । झापाका आठ नगरपालिकामा मात्रै यो अवधिमा ८९७ वटा घटना घटेको प्रहरीले जनाएको छ । उता सात गाउँपालिकामध्ये सबैभन्दा धेरै घटना कमल गाउँपालिकामा घटेका छन् । कमल गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ७२ घटना घटेका छन् । गाउँपालिकामध्येकै सबैभन्दा कम घटना कचनकवल गाउँपालिकामा घटेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीका अनुसार गौरीगञ्जमा ३२, बाह्रदशीमा ३१, बुद्धशान्तिमा ५१, हल्दिबारीमा ३७ र कचनकवलमा २२ वटा घटना घटेको र मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कोइरालाले बताए । गाउँपालिकामा मात्रै २७३ वटा मुद्दा दर्ता भएका छन् । स्थानीय तहमा भएका अपराधका घटनालाई आधार मान्दा नगरपालिकामा कूल मुद्दा सङ्ख्या ८९७ रहेको छ भने गाउँपालिकामा २७३ वटा छन् । शहरोन्मुख क्षेर र सघन बस्ती भएकै ठाउँमा अपराधका घटना बढी देखिएको प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनले देखाउँछ ।

नगरपालिकाको पनि मेचीनगरको ८ नम्बर वडा र विर्तामोडको ५ नम्बर वडामा धेरै घटना घटेका छन् । मेचीनगरको एउटै वडामा ७३ र विर्तामोडको एउटै वडामा ६७ घटना घटेका छन् । अपराधका घटनामा कमी आउनुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।

यौनजन्य अपराधसमेत घट्यो

झापामा यौनजन्य अपराधका घटनामा समेत कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा झापामा ९९ करणी, ३४ करणी उद्योग र एउटा घटना बाल यौन दुरुपयोग अप्राकृतिक मैथुन भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा १७४ यौनजन्य अपराधका घटना घटे पनि आर्थिक वर्ष २०७६/०७७ मा १२६ वटा मात्रै यौनजन्य अपराधका घटना घटेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा जबर्जस्ती करणीका ८५, करणी उद्योगका २४ र बाल यौन दुव्र्यवहार र अप्राकृतिक मैथुनका १७ वटा घटना घटेका छन् ।

मुलुकी फौजदारी अपराध संहिता, २०७४ मिति २०७५ साल भदौ १ गतेबाट लागू भएसँगै प्रहरीले अहिले बाल यौन दुरुपयोगसम्बन्धीको कानूनी व्यवस्था भएकाले आर्थिक वर्ष २०७६/०७७ मा बाल यौन दुरुपयोग मुद्दा दर्ता थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यौनजन्य अपराधका घटनालाई हेर्ने हो भने ८५ प्रतिशत घटना जबर्जस्ती करणी, २४ प्रतिशत उद्योग, १३ प्रतिशत बाल यौन दुरुपयोग र चार प्रतिशत अप्राकृतिक मैथुनजस्ता अपराधका घटना हुने गरेको छ । प्रहरीको तथ्याङ्कअनुसार विर्तामोड नगरपालिकामा धेरै यौनजन्य अपराधका घटना घट्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा मात्रै विर्तामोड नगरपालिकामा १४, भद्रपुरमा १३, दमकमा १२, मेचीनगर तथा अर्जुनधारामा आठ/आठ र कनकाई तथा गौरादहमा पाँच/पाँच, त्यस्तै शिवसताक्षीमा चार वटा घटना घटेका छन् ।

गाउँपालिकामा बाल यौनजन्य दुरुपयोग, अप्राकृतिक मैथुनजस्ता अपराधका घटना धेरै घट्ने गरेको पाइएको छ । बुद्धशान्ति गाउँपालिकामा छ वटा यस्ता बाल यौनजन्य अपराधका घटना घटेका छन् । गौरीगञ्ज गाउँपालिकामा यौनजन्य पाँच वटा घटना आर्थिक वर्ष २०७६/०७७ मा घटेका छन् । यौनजन्य अपराधका घटनामा १८ वर्षमुनिका बालबालिका नै सबैभन्दा धेरै पीडित बन्ने गरेका छन् । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४६ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका छन् । त्यस्तै १८ देखि २५ वर्ष उमेर समूहका किशोरी तथा महिलाको हकमा ३७ जना यो अवधिमा बलात्कृत भएका छन् भने २५-३५ वर्ष उमेर समूहका किशोरी तथा महिला आठ प्रतिशतमात्रै बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यौनजन्य अपराधका घटनामा १८ देखि २५ वर्ष उमेर समूहका पीडक धेरै रहेको बताइएको छ । यो अवधिमा ३५ जनालाई प्रहरीले जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाएको छ । यौनजन्य अपराधमा सामान्य लेखपढ गर्न जान्ने ९७ प्रतिशत मानिस यौनजन्य अपराधमा संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया