मंगलबार, वैशाख ११, २०८१

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

नेपालखोज २०७७ साउन ५ गते १३:०८

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २७ हजार ४ सय ९७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख १८ हजार ४३ पुगेको अधिकारीहरुले जनाएका छन् ।भारतमा अहिले पनि ३ लाख ९० हजार ४५९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८७ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १० हजार ४ सय ५५ जना संक्रमित भएका छन् । त्यसपछि तमिलनाडु र दिल्ली प्रदेशमा कोरोना भाइरस संक्रमणको दोस्रो र तेस्रो स्थानमा रहेको छ । रासस /एएनआई

प्रतिक्रिया