सोमबार, वैशाख १७, २०८१

रुसी सेनामा नेपाली भर्ना भएका ठोस प्रमाण अहिलेसम्म पाएका छैनौँ : परराष्ट्रमन्त्री

नेपालखोज २०८० असार ९ गते ११:५१

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा नेपालीहरू भर्ना भएको भन्ने विवरण कुनै विश्वसनीय स्रोतबाट प्राप्त भइनसकेकाले त्यसबारे सरकारले औपचारिक प्रतिक्रिया नजनाएको बताएका छन् ।

तर सामाजिक सञ्जाल र कतिपय विवरणमा आएका जानकारीका आधारमा सरकारको यस विषयमा ध्यानाकर्षण भएको उनले बताए।

केही साता यता युक्रेनसँग लडाइँमा रुसको तर्फबाट लड्न केही नेपाली युवाहरू भर्ना भएका भन्ने विवरण आइरहेका छन्।

तर असंलग्न विदेश नीति अँगालेको नेपालका युवाहरू यसरी बिना कुनै कानुनी आधार तेस्रो देशको फौजमा आबद्ध भएका भन्ने विवरण संसद्मा पनि उठिरहँदा सरकारले औपचारिक धारणा बाहिर ल्याइसकेको छैन।

बीबीसीले नेपालीहरू आफूखुशी रुसी सेनामा भर्ना भइरहेकोबारे नेपाल सरकारको के प्रतिक्रिया छ ? भनेर परराष्ट्रमन्त्री साउदसँग सोधेको थियो । पढ्नुहोस् त्यसको सम्पादित अंशः

नेपालीहरू युक्रेनविरुद्ध लड्नका लागि रुसी सेनामा भर्ती भइरहेका भन्ने खबरहरू आएका छन्। परराष्ट्र मन्त्रालय या नेपाल सरकारले अहिलेसम्म यसबारे किन नबोलेको ?

रुस युक्रेन युद्धका सन्दर्भमा केही सोसल मिडियामा कसै कसैले नेपालीहरू युक्रेनमा पनि भर्ना भए भन्ने कुरा गरेका छन् र कतै चाहिँ रुसी सेनामा भर्ना भए भन्ने कुरा आएको छ । केही मिडियाले यो कुरा लेखेका छन् तर यसमा ठोस प्रमाण हामीलाई अहिलेसम्म उपलब्ध भएको छैन ।

सरकारको यसमा गम्भीर ध्यानाकर्षण भएको छ। हामीले यो विषयलाई लिएर आवश्यक छलफल पनि गरेका छौँ तर कुनै विश्वसनीय स्रोतबाट वास्तविक खबर नआइकन हामीले यसबारे केही भन्न सक्दैनौँ । (यो विषयलाई) हेरिराखेका छौँ ।

तपाईँले मस्कोस्थित दूतावासलाई केही निर्देशन दिनुभएको छ ? बीबीसीले कुरा गर्दा ती राजदूतले त्यसबारे मेरो जानकारीमा केही पनि छैन भनेका छन् ।

दूतावास नै यस निम्ति राखिएको हुन्छ कि त्यो देशसँगको सम्बन्धको सन्दर्भमा, त्यहाँ भइरहेका गतिविधिका सन्दर्भमा उनीहरूले हामीलाई रिपोर्ट गर्नुपर्ने हुन्छ । त्यो देशमा भएका कुराका बारे हामीकहाँ कुनै ठोस रिपोर्ट आएको छैन ।

तपाईँले भन्नुभयो युक्रेनमा पनि नेपाली भर्ती भएका छन् भन्नेबारे सामाजिक सञ्जालमा आएको छ। नेपालीहरू कुन कुन देशमा भर्ती हुन पाउने हो? जहाँ पनि भर्ना हुन दिने कि नदिने ? यो रोक्न पर्छ कि पर्दैन ? भन्नेबारे तपाईँहरूको सोच के हो ?

नेपालको केही देशको सेनामा परम्परागत रूपमा भर्नाको प्रक्रिया छ । त्योभन्दा बाहेक कुनै पनि देशसँग सैन्य भर्ती सम्बन्धी कुनै सन्धि, सम्झौता वा समझदारी छैन। परम्परागतरूपमा भर्ना हुने देशहरूमाबाहेक अन्य देशमा नेपालीहरूलाई भर्ना गर्ने कुरा हाम्रो नीति भित्र पर्दैन ।

तपाईँको नीति भित्र पर्दैन तर नेपालीहरू गएर भर्ना भइरहेका छन् भने तपाईँ कसरी रोक्न सक्नुहुन्छ ? ‘नेपालमा रोजगारी छैन त्यहाँ राम्रो पैसा दिइरहेका छन् त्यसैले हामी आयौँ उनीहरूले त्यसो भनेका छन् । उनीहरूलाई कसरी रोक्न सक्नुहुन्छ तपाईँ ?

बीबीसीको त्यस्तो किसिमको प्रत्यक्ष प्रसारण सुन्ने अवसर मैले पाएको छैन । सोसल मिडियामार्फत् हामीकहाँ त्यस्तो खबर पुगेको हो । त्यस्तो किसिमको कुरालाई म यति मात्रै भन्न चाहन्छु कि रोजगारीको समस्या या बेरोजगारीको समस्या मुलुकको आन्तरिक मामिला हो । कुनै देशको युद्धमा कुनै मान्छेले जाने/नजाने भन्ने कुरा चाहिँ त्यो देशले, त्यो देशको नीतिले तय गर्छ। हाम्रो देशको त्यस्तो कुनै नीति छैन ।

अब अर्को प्रसङ्ग, प्रधानमन्त्री लगायत तपाईँहरू भारत जानुभयो । त्यहाँ विभिन्न सहमति गरेर आए पनि भित्तेभित्र, विद्युत्‌ सम्झौता, मन्दिरमा पूजा लगायतका विवाद पनि सँगै आए। त्यसमा तपाईँ के भन्नुहुन्छ ?

प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण थियो। पर्याप्त गृहकार्य गर्ने समय पाएर भ्रमण भएकोले हुनाले सरकारको तर्फबाट भारतसँग जोडिएका विभिन्न अजेन्डाबारे आवश्यक तयारी गरिएको थियो। भारत जाँदा भएका सानातिना टिप्पणीलाई स्वाभाविक रूपमा मैले लिने गरेको छु।

सानो देश भएको हुनाले छिमेकी देशको भ्रमण गर्दा हाम्रो प्रस्तुति दबिएको नहोस्, खुला र स्पष्ट रूपमा राष्ट्रको पक्षमा प्रस्तुत होओस् भन्ने चिन्ता र चासो पनि हुन्छ। त्यसलाई चाहिँ हामीले कुनै पनि हालतमा अन्यथा लिनु हुन्न। उच्चस्तरीय भ्रमणका बेला जम्मै कुरा टेबुलमा समाधान भइहाल्छन्, तत्कालै हुन्छ भन्ने चाहिँ होइन।

र द्विपक्षीय समितिहरू चाहे त्यो परराष्ट्रमन्त्रीको तहमा होऊन्, चाहे सचिवको तहमा होऊन् या भिन्न मन्त्रालयका सचिव, सहसचिवहरूको तहमा या तलको वर्किङ ग्रुपको तहमा होऊन्, यी संयन्त्रहरूलाई सक्रिय गर्न सक्यौँ, यिनीहरूलाई परिचालन गर्न सक्यौँ भने हामी समस्याको जरोसम्म पुग्न सक्छौँ र समाधानको प्रक्रियालाई सरलीकरण गर्न सक्छौँ।

यो काम जुन लामो समयसम्म थाती रहेको थियो। यो भ्रमणले त्यो ढोका खोलिदिएको छ।

तपाईँले एकदम तयारी गरेका थियौँ त्यहाँ गएर राम्रोसँग कुराकानी गर्‍यौँ भने पनि शुरूमै प्रधानमन्त्रीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग गरेको एक्लाएक्लै भेटघाट नै विवादमा पर्‍यो । त्यहाँ परराष्ट्र मन्त्रालयका कोही प्रतिनिधि भएनन्, कमजोरी भयो भन्ने कुरा पनि उठ्यो । त्यो भेटघाटमा के भयो भन्ने कुरा देशको रेकर्ड रहेन भन्ने कुरा पनि उठ्यो। के भएको थियो ? के नेपालको रेकर्डमा छ त त्यो कुरा ?

स्वाभाविक रूपमा त्यहाँका प्रधानमन्त्रीसम्म सुरक्षा सल्लाहकारको पहुँच हुन्छ। केही मुद्दाहरू नेपालको आर्थिक विकासको सम्बन्धमा, सुरक्षासँग सम्बन्धित मुद्दाहरू या परराष्ट्रसम्बन्धी नै मुद्दाहरू होऊन्, विदेश नीतिका मुद्दा होऊन् जसमा चाहिँ गतिरोधलाई फुकाउनुपर्छ।

चाहे सीमासम्बन्धी मुद्दाहरू होऊन्। त्यसमा दुइटै देशका प्रधानमन्त्रीको हस्तक्षेपको आवश्यकता पनि पर्छ। त्यो कुराका लागि सहजीकरण होओस् भन्ने उद्देश्यले सुरक्षा सल्लाहकारसँग एक्लाएक्लै बैठक भएको हुनुपर्छ।

र नेपालका प्रधानमन्त्रीले आफ्नो मुलुकको राष्ट्रिय हितको पक्ष त्यहाँ राखेर यो भ्रमणलाई फलदायी बनाउँदै भ्रमणका अजेन्डामा भारत सरकार लचिलो भएर प्रस्तुत हुनुपर्ने भन्ने किसिमको आग्रह गरेको हुनुपर्छ भन्ने मेरो सोचाइ छ।

तपाईँले अखण्ड भारतसम्बन्धी भित्तेचित्रबारे त्यहाँको एउटा टेलिभिजनसँग गरेको कुराकानी पनि निकै विवादमा पर्‍यो। त्यसबारे तपाईँले त्यहाँ जे प्रतिक्रिया दिनुभएको थियो, त्यस्तो किन दिनुभयो ?

त्यो भित्तेचित्रको कुरा दुई देशको सम्बन्धबीचको वार्ताको कुनै अजेन्डा थिएन । किनभने भारतको कुनै अड्डामा राखिएको जुन मुराल छ त्यसको बारेमा या त हाम्रो दूतावासले हामीलाई रिपोर्ट गर्नुपर्छ या चाहिँ सम्बन्धित सरकारले हामीले यो उद्देश्यका साथ हामीले यो मुराल स्थापना गरेका छौँ भनेर हामीले भारत सरकारको दृष्टिकोण सुनेपछि प्रतिक्रिया दिने हो ।

के प्रयोजनले राखिएको हो भनेर भारत सरकारले आफ्नो पक्ष स्पष्ट नगरीकन हामीले प्रधानमन्त्रीको भ्रमणका बेला राष्ट्रिय अजेन्डाका रूपमा परराष्ट्रमन्त्रीको हैसियतमा प्रस्तुत गर्दा त्यो परिपक्वता कदापि हुँदैनथ्यो ।

त्यसप्रति तपाईँहरूको अहिलेको भनाइ के हो ?

भारतस्थित हाम्रो राजदूतावासलाई सम्बन्धित पक्षसँग कुरा गरेर तपाईँहरू रिपोर्ट दिनूस् भनेका छौँ ।

अब अर्को विषय, त्यो बेलामा निकै उठेको, प्रधानमन्त्री र तपाईँ लगायत महाकालेश्वर दर्शन गर्न गएको, त्यहाँ गेरु वस्त्र लगाएर रुद्राक्ष चढाएर जे गर्नुभयो त्यो चाहिँ त्यहाँको सत्तालाई रिझाउनका निम्ति गर्नुभयो किनभने भारतमा अहिले हिन्दूत्ववादी सरकार छ भनेर पनि तपाईँहरूको आलोचना भएको छ ।

दुई देशबीच औपचारिक छलफल हुन्छ। त्यसपछि अवलोकन भ्रमण पनि हुन्छ। अवलोकन भ्रमणपछि केही सांस्कृतिक ठाउँमा पनि आउनेजाने हुन्छ। पहिले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बेलामा तिरुपति बालाजीको मन्दिर गएर हामीले दर्शन गरेका थियौँ। यो पालि महाकालेश्वरको दर्शन गर्‍यौँ।

मन्दिर जाँदा तपाईँ फूल लैजानुहुन्छ, नैवेद्य लैजानुहुन्छ, धूप लैजानुहुन्छ । पूजा सामग्री लिएर जानुहुन्छ । म पनि नेपालबाट जाँदा नेपालमा उत्पादन भएको रुद्राक्ष लिएर गएको थिएँ । १०८ किलो नै रुद्राक्ष लिएर जाँदा मन्दिरका लागि र हाम्रा लागि पनि महत्त्वपूर्ण हुन्छ भन्ने लागेको थियो ।

तर यहाँबाट बोकेर लैजाँदा एक क्विन्टलभन्दा ज्यादा हुन्थ्यो त्यो कुरालाई दृष्टिगत गरेर मैले १०८ रुद्राक्ष भएका १०८ वटा माला लगेको थिएँ। प्रधानमन्त्रीसहित हामी सबैले पूजाआजा गर्‍यौँ। त्यहाँको प्रोटोकल अनुसार शुद्ध वस्त्र लगाएर भगवान्‌को दर्शन गरेका हौँ र शुद्ध वस्त्रमा भगवान्‌को दर्शन गर्नु भनेको मलाई लाग्छ हाम्रो हिन्दू परम्पराको अत्यन्त उच्च अभ्यास हो। यसलाई अन्यथा लिनुपर्ने कुरा म देख्दिनँ।

अर्को कुरा पनि म तपाईँसँग भन्न चाहन्छु कि मान्छेको जीवनमा विभिन्न घटना हुन्छन्। मान्छेले आफ्नो युवावस्थामा धेरै सपना देखेका हुन्छन्। यथार्थसँग लड्दै भिड्दै अगाडि बढ्दै जाँदा केही समस्या हुन्छन् जसको समाधान भएको हुन्न। केही शक्ति आफूले जतिसुकै उत्सर्जन गरे पनि त्योभन्दा महान् शक्ति पनि कुनै न कुनै ठाउँमा देखिन्छ। कज एन्ड इफेक्टका आधारमा विज्ञानले जतिसुकै आफ्नै औचित्य स्थापित गर्न खोजे पनि सबै कुराको कारणसम्म विज्ञान पुग्न सकेको छैन। प्रधानमन्त्री पनि त्यहाँ जानुभयो ।

त्यो मैले सोध्न लागेकै थिएँ, त्यो तपाईँको भावना हो कि प्रधानमन्त्री पनि त्यस्तै सोचेर गएका हुन् ?

मलाई लाग्छ देवदर्शनप्रति उहाँ सकारात्मक हुनुहुन्थ्यो र अध्यात्मलाई उहाँले स्वीकार गर्नुभएको थियो।

अनि नेपाल आएपछि पशुपतिनाथ पनि जानुभयो ?

हो। भारत भ्रमण भयो र भारत भ्रमणकै बेला नेपालमा पनि ठूलै चर्चापरिचर्चा भयो । म त पशुपतिनाथ कहिलेकाहीँ साउनमा जाने गरेको छु। फुर्सदमा पनि हामी जाने गर्छौँ । उहाँ पनि देशको प्रधानमन्त्री भइसकेपछि आफ्नो देशको ठूलो सांस्कृतिक धरोहर पशुपतिनाथमा पूजा गर्न जानुलाई चाहिँ एउटा राजकीय कर्तव्यकै रूपमा लिनुपर्छ जस्तो मलाई लाग्छ।

देवाधिदेव पशुपतिनाथको पूजा गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई छ र दायित्व पनि प्रधानमन्त्रीमा छ।

मैले सोध्न खोजेको, महाकालेश्वर गएर आएपछि पशुपति पनि जानुपर्छ रे भन्ने सुनेको । त्यही भएर गएका हुन् ?

होइन, महाकालेश्वर र पशुपति दुइटै महत्त्वपूर्ण पीठ हुन्। एक ठाउँ पुगिसकेपछि अर्को ठाउँमा पुग्नैपर्छ भन्ने चाहिँ होइन। तर त्यहाँ गइसकेपछि भएको बहस चाहिँ पशुपति गएपछि सामान्य आकार ग्रहण गर्छ भन्ने विश्वासका साथ त्यहीँको टोली पशुपति गएको हो। यो विवाद गर्नुपर्ने कुरा होइन ।

अर्को प्रसङ्ग, चीनको बीआरआई कार्यान्वयनमा आएको छैन । उताबाट चिनियाँ राष्ट्रपति सी जिन्पिङ आए, ठूलाठूला नेता आइरहेका छन्। तर नेपाल भारततिर ढल्केको र चीनले सहयोग गर्न खोज्दा पनि बेवास्ता गरेको भन्ने कुरा आइरहेका छन् नि।

चीन हाम्रो महत्त्वपूर्ण मित्र राष्ट्र हो। चीनसँगको सम्बन्धलाई नेपालले महत्त्व दिँदै आएको छ ।

अझ प्रस्ट रूपमा भन्नुपर्दा के नेपाल अहिले भारत र अमेरिकातर्फ ढल्केको अनि चीनसँग अलि पर बस्न खोजेको हो ?

चीन जाँदा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा विभिन्न तहमा भ्रमण हुँदा चीन एउटा उदाउँदो अर्थतन्त्र भएको हुनाले नेपाललाई सहयोग, अनुदान दिने कुरा हुँदै आएको छ। उहाँहरूले बीआरआई जसमा नेपालले सहमति जनाइसकेको छ त्यसमा पनि तपाईँहरू प्रोजेक्ट लिनूस् भन्दै आउनुभएको छ। यसमा हामी ऋण लिँदा त्यसलाई धान्न सक्छौँ कि सक्दैनौँ, प्रोजेक्टको बारेमा सघन र व्यापक अध्ययन गरेपछि मात्रै लिन्छौँ भनेको हो। त्यो चीनसँग मात्रै होइन जुनसुकै देशसँग लिँदा पनि त्यही रूपमा हामी लिने गर्छौँ।

चीनले प्रतिबद्धता जनाएका आर्थिक सहयोग लगभग एक खर्बका हाराहारीमा छ भन्ने जानकारीमा आएको छ। मैले अर्थ मन्त्रालयलाई मौखिक रूपमा आग्रह गरेर ती ग्रान्टका लागि परियोजनाहरू विकास गर्ने, ती परियोजनाहरूको कार्यान्वयनबाट नेपालले फाइदा लिन अगाडि बढ्नुपर्ने कुरामा सम्बन्धित मन्त्रालयहरूसँग उपयुक्त किसिमको समन्वय गर्न भनेको छु।

दुई किसिमका कुरामा हामी चीनसँग स्पष्ट छौँ- पहिलो कुरा हामी एक चीन नीतिमा प्रतिबद्ध छौँ र दोस्रो कुरा हाम्रो भूमि चीनविरुद्ध प्रयोग गर्न कसैलाई पनि दिन्नौँ। कसैले प्रयोग गर्न सक्दैन भन्ने कुरामा हामी चीनलाई आश्वस्त गराउन चाहन्छौँ। चीनसँग सघन किसिमले हाम्रो व्यापार-वाणिज्य चलिराखेकै छ र त्यो अगाडि बढिराखेको पनि छ।

तर दुइटै देशको सम्बन्धको तुलना गरेर नेपाल रातदिन कुण्ठित भएर बस्नुपर्ने अवस्था छैन। भारतसँग जुन काम पर्छ हामी भारतसँग गर्छौँ। चीनसँग जस्तो किसिमको सम्बन्धको आवश्यकता पर्छ त्यस्तो किसिमको चीनसँग गर्छौँ। हामी दुइटैलाई एकअर्काविरुद्ध प्रयोग पनि गर्दैनौँ र हाम्रो सम्बन्धलाई एकअर्कासँग विकसित गर्नका लागि एकअर्काको मुख ताक्नुपर्छ आवश्यकता छ जस्तो मलाई लाग्दैन।

-BBC Nepali

प्रतिक्रिया