शुक्रबार, चैत १६, २०८०

बिपीको समाजवादमा काँग्रेस सदैव क्रियाशील छ : सभापति देउवा

नेपालखोज २०७७ साउन ६ गते १२:५९

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गरे ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औं स्मृति दिवसका अवसरमा आज उनले बिपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा काँग्रेस अग्रसर रहने बताए ।

यसैगरी काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पुर्याउँदैन भन्ने स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरे ।

उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता रहेको जनाए ।

बिपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र सङ्गीतमा समेत लगाव भएको बहुआयामिक व्यक्ति हुन् । उनले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्व दिने संस्कारको विकासमा नै लागे । काँग्रेसले आज देशैभर विभिन्न कार्यक्रम गरी बिपीको ३८औं स्मृति दिवस मनाइरहेको छ ।  रासस

प्रतिक्रिया