बिहीबार, वैशाख १३, २०८१

भारतको आसाममा बाढीबाट १ सय ११ को मृत्यु, लाखौँ प्रभावित

नेपालखोज २०७७ साउन ६ गते १५:०५

काठमाडौं । भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १ सय ११ जना स्थानीयको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ ।

यहाँ मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पनि २५ लाख मानिस नराम्ररी प्रभावित भएका छन् । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।

उक्त विभागले दिएको जानकारीमा यहाँका ८५ जना मानिसको बाढीमा परेर ज्यान गएको छ भने अरु २६ जना पहिरोमा परी मृत्यु भएको छ । सो विभागले गएको हप्ता दिन देखि नै यहाँ अविरल रुपमा वर्षा भइरहेको छ ।

आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् । तर, बाढी निरन्तर रहेकोले यस विषयमा विस्तृत रुपमा विवरण भने आइसकेको छैन ।

ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि रहेको बताइएको छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ । राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ ।

राज्यमा सयौँको संख्यामा शिविरहरु स्थापना गरेर उद्धारको काम जारी राखेको छ । ती क्षेत्रमा भएको क्षतिको विवरण पूर्ण रुपमा अझै आएको छैन । उद्धारको काम जारी रहेको आसामका उद्धारकर्मीहरुले जनाएका छन् ।

यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् ।

प्रतिक्रिया