बिहीबार, वैशाख १३, २०८१

उच्च अदालत पोखरामा लकडाउनमा ३ सय मुद्दा

नेपालखोज २०७७ साउन ७ गते १२:४९

कास्की । बन्दाबन्दीमा उच्च अदालत पोखरामा २ सय ९९ मुद्दा परेका छन् । उच्च अदालतका कामु मुख्यन्यायाधीश किशोर सिलवालले न्यायपालिकाको चौथौ पञ्चवर्षीय योजना एवं उच्च अदालतको पोखराको आर्थिक वर्ष २०७६/७७ मा अदालतबाट सम्पादन भएका गतिविधिका बारेमा पत्रकारहरुलाई सो विषयमा जानकारी गराए । उक्त मुद्दामध्ये १ सय ८८ फछ्यौट भएका छन् ।

उनका अनुसार सरकारवादी फौजदारी १ सय ३३, बैंकिङ कसुरका ३८, बन्दी प्रत्यक्षीकरण ६, बेरीतको निवदेन ७३ र कैफियत प्रतिवेदन ४९ परेका छन् । असार १२ गतेपछि अदालतले १३ प्रकारका मुद्दाका प्रक्रिया अगाडि बढाउने निर्णयले कामको चाप पनि बढ्दै गएको उनले बताए ।
उपरजिस्ट्रार विश्वनाथ अर्यालले बन्दी प्रत्यक्षीकरणका निवेदन, कोभिड–१९ सम्बन्धी रिट निवेदन, मुद्दाको पुर्पक्षका लागि बालसुधारगृहमा रहेका नाबालकलाई अभिभावकको जिम्मामा लैजान परेका निवेदन असार १२ पछि हेर्न थालिएको जानकारी दिए । यो अवधिमा आठ नाबालक अभिभावकको जिम्मामा घर गएका छन् । पक्राउ पुर्जीको अनुमति दिने कार्य, बैंकिङ कसुर मुद्दाको म्याद थप र मुद्दाको अभियोगपत्र दर्ता गरी थुनछेक गर्ने कार्य यो अवधिमा भएको अर्यालको भनाइ छ । अर्यालका अनुसार नागरिक र कानून व्यवसायीको गुनासो बढेको र बन्दाबन्दी पनि केही खुकुलो भएपछि उच्च अदालत पोखराले साउन १ गतेबाट थप पाँच प्रकारका कारवाही पनि अगाडि बढाएको छ ।

सार्वजनिक बस नचलेका कारण मुद्दाका पक्ष मात्र होइन कर्मचारीसमेत सहजरूपमा कार्यालय आउन सकेका छैनन् । उच्च अदालत पोखराले एक वर्षभरिमा ७७३ मुद्दा किनारा लगाएको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेका र नयाँ दर्ता भएका गरी १ हजार ६ सय ७० मध्ये अब ८ सय ९७ बाँकी छन् । अदालतले गत आर्थिकमा सबैभन्दा बढी सरकारवादी फौजदारी ४ सय ६८ मुद्दा फैसला गरेको छ । दुनियावादी फौजदारी ५८ र दुनियावादी देवानी १ सय ७५ मुद्दा किनारा लागेका छन् । वर्षभरिमा १ हजार ३ सय ५४ मुद्दा किनारा लगाउने अदालतको लक्ष्य थियो । तर लकडाउनका कारण लक्ष्यअनुसार काम हुन सकेन ।

उच्च अदालतले शुरु मुद्दा हेर्ने वाणिज्य इजलासमा १ सय ३ मुद्दा रहेकामा वर्षभरिमा सातवटा मुद्दा किनारा लागेका छन् । उच्च अदालत पोखरामा अहिले बैंकिङ कसुरका मुद्दा बढेका छन् । यो वर्षमा मात्र बैंकिङ कसुरका ९५ मुद्दा दर्ता भएका छन् । अदालतमा छ न्यायाधीश र ६४ कर्मचारी कार्यरत छन् । वर्षभरिमा उच्च अदालतमा मेलमिलापका लागि १ सय २७ मुद्दा दर्ता भए पनि सातवटा मिलापत्र भएका छन् भने १० वटा छलफलकै क्रममा छन् । एक सय १० मुद्दा फाँटमै फिर्ता भएका छन् । उच्चमा १८ जना सूचीकृत मेलमिलापकर्ता छन् ।   रासस

प्रतिक्रिया