शुक्रबार, वैशाख १४, २०८१

आमाबुवाको हत्या गर्ने दुई तालिबान लडाकुलाई मार्ने अफगानिस्तानकी १६ वर्षिय किशोरी

नेपालखोज २०७७ साउन ७ गते १७:२६

काठमाडौं । गत साता आफ्ना दुवै अभिभावकको हत्या गर्ने तालिबान लडाकुहरूलाई अफगानिस्तानकी एक किशोरी गाेली हानेर मारेकी छिन् ।

अफगानिस्तानको घोर प्रान्तका अधिकारीहरूका अनुसार १६ वर्षिय ति किशोरीले परिवारको एके-४७ राइफल लिएर दुई लडाकुलाई मारिदिएकी थिइन् । उक्त घटनामा अन्य कैयौँ घाइते भएका थिए ।

किशोरीका बुवा सरकार समर्थक रहेकाले तालिबानहरू उनको घरमा गएको अधिकारीहरूको भनाइ छ । पछिल्ला दिनहरूमा राइफल समातेको युवतीको फोटो भाइरल भएको छ । उक्त घटनापछि ग्रिवा गाउँमा रहेको उनको घरमा आक्रमण गर्न थप लडाकु पुगेका थिए ।

तर उनीहरू स्थानीय बासिन्दा र सरकार पक्षीय लडाकुहरूको आक्रमणमा परेका थिए । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले किशोरीको प्रशंसा गरेका छन् ।

समाचारसंस्था एएफपीका अनुसार नजिबा रह्मीले फेसबुकमा लेखेकी छन्, ‘उनको हिम्मतलाई सलाम छ ।’ फेसबुकमै मोहमद सलेहले टिप्पणी गरेका छन्, ‘हामीलाई थाहा छ, अभिभावक गुमाउनुको वियोग अपूरणीय हुन्छ, तर तिमीले लिएको बदलाले तुलनात्मक रूपमा शान्ति दिनेछ ।’

स्थानीय सञ्चारमाध्यमका अनुसार घोर पश्चिमी अफगानिस्तानको निकै अविकसित प्रान्त हो । त्यहाँ महिलाविरुद्धको हिंसा निकै उच्च छ । तालिबानले गत फेब्रुअरी महिनामा अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो ।

तर उसका कैयौँ सदस्यहरूले अझै पनि अफगानिस्तानको वर्तमान सरकार र संविधानको अन्त्य गर्न आग्रह जारी राखेका छन् ।  (बीबीसीकाे सहयाेगमा)

प्रतिक्रिया