शुक्रबार, वैशाख १४, २०८१

बाढीपहिरोले पर्वतको खानेपानी आयोजनामा क्षति

नेपालखोज २०७७ साउन ८ गते ११:२७

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा निर्माणाधीन करिब १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ ।

बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पुर्याएको छ । खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की पर्खालसमेत बाढीले बगाएको बारीबेनी बृहत् लिफ्टिङ खानेपानी आयोजनाका सल्लाहकार नगेन्द्र थापाले बताए ।

आयोजनास्थलको माथिपट्टि भूपि शेरचन राजमार्ग स्तरोन्नतिका कारण पहिरो झरिरहेको र अत्यधिक वर्षासँगै कालीगण्डकीमा आएको बाढीले आयोजना जोखिममा परेको बारीबेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताएका छन् ।

विसं २०७२ देखि निर्माण शुरु गरिएको आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको छ । आयोजनाको कूल लागत १२ करोड ४३ लाख ७४ हजार रुपैयाँ रहेको छ । आयोजनाबाट जलजला वडा नं २, ३ र ४ का ९५४ घरधुरी लाभान्वित हुनेछन् । कालीगण्डकीको पानी शुद्धीकरण गरेर लिफ्टिङमार्फत उपभोक्ताका घरघरमा खानेपानी पुर्याउने आयोजनाको लक्ष्य छ ।

पूर्वाधारको काम अन्तिम चरणमा पुगेको आयोजनामा बाढी र पहिरोले क्षति पु¥याएका कारण आयोजना सञ्चालनमा आउन थप समय लाग्ने रेग्मीले बताए । जलजलाको वडा नं २, ३, ४ बारीबेनी, लामाखेत, पर्वतबगरमा ‘एक घर एक धारा खानेपानी’ पुर्याउने उद्देश्यले निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेको थियो । बाढीपहिरोले करोडौँका संरचनामा क्षति पुर्याएकाले व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन् ।

खानेपानी आयोजनासँगै रहेको जुगेधारा खेलमैदानमा समेत बाढीले क्षति पुर्याएको छ । प्रदेश सरकारको ‘एक गाउँपालिका एक खेलमैदान’ कार्यक्रमअन्र्तगत निर्माण भएको उक्त खेलमैदान कालीगण्डकीको कटानमा परेको हो । रासस

प्रतिक्रिया