शुक्रबार, वैशाख १४, २०८१

मोबाइल फोनले ल्याण्डलाइन मोह घट्दै

नेपालखोज २०७७ साउन ८ गते १४:२२

काठमाडौं । कुनै समय देशभरमै दूरसञ्चारको एकमात्र विकल्प रहेको ल्याण्डलाइन फोनको बजार यतिबेला खुम्चिँदो क्रममा छ । मोबाइल फोनको निरन्तर पहुँच विस्तारले ल्याण्डलाइन फोनप्रतिको आम मोह पनि क्रमशः घट्दै गएको छ ।

त्यसैले पनि नेपालको दूरसञ्चारको पछिल्लो विकास क्रममा महत्वपूर्ण योगदान पुर्‍याएको ल्याण्डलाइन फोन यतिबेला आफ्नो अस्तित्व जोगाउने प्रयत्नमा देखिन्छ । मोबाइल फोनले ल्याएको सहजता तथा देशभर प्रायः सबै स्थानमा प्रयोग गर्न सकिने सुविधाले ल्याण्डलाइन जडान गर्ने नयाँ ग्राहक घट्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले पनि पुष्टि गर्छ ।

विगत एक बर्षमा ल्याण्डलाइन प्रयोगकर्ताको सङ्ख्या १२ हजारभन्दा बढीले घटेको तथ्याङ्क छ । प्राधिकरणका अनुसार गत बर्ष जेठमा ६ लाख ७७ हजार ३ सय ९३ ल्यान्डलाइन ग्राहक रहेकोमा यो वर्षको बैशाखसम्म आइपुग्दा यो संख्या ६ लाख ६४ हजार ८ सय ६३ मा सीमित भएको छ । अर्थात् एक बर्षको अन्तरालमा १२ हजार ५ सय ३० जना ल्याण्डलाइन प्रयोगकर्ता घटेका छन् ।

नेपालमा नेपाल टेलिकमले मात्र ल्याण्डलाइन फोन सुविधा उपलब्ध गराइरहेको छ । अहिले यसका मूख्य ग्राहक संस्थागत प्रयोगकर्ता हुन् ।सरकारी कार्यालय तथा निजी क्षेत्रका केही कार्यालयमा ल्याण्डलाइनको प्रयोग पहिलो प्राथमिकतामा देखिन्छ ।

विगतमा घरेलु ग्राहकको समेत प्राथमिकताको विषय रहेको ल्याण्डलाइन यसको जडान तथा भुक्तानी प्रक्रियाका कारण मोबाइल फोनले विस्थापित गर्दै लगेको छ । प्राधिकरणको बैशाखसम्मको तथ्याङ्कअनुसार तीन करोड ७८ लाखभन्दा बढी मोबाइल सिमकार्ड वितरण भइसकेका छन् । दूरसञ्चार सेवाको बजारमा मोबाइल सेवाको ९८ हिस्सा प्रतिशत हुँदा ल्याण्डलाइनको बजार हिस्सा भने दुई प्रतिशत मात्र छ ।

प्रतिक्रिया