बिहीबार, वैशाख १३, २०८१

मेडिकल कलेजको ठगी धन्दा विद्यार्थी राजनीतिको मुद्दा भित्र पर्दैन ? सरकारको निर्देशन देखाउने दाँत मात्रै हो ?

नेपालखोज २०७६ मंसिर १० गते ७:००

टंककला तिमिल्सेना,

१० मंसिर, काठमाडौँ । डाक्टर उत्पादन गर्ने थलो मेडिकल कलेजको ठगी धन्दा विषय हिजो आज ‘हट केक’को रुपमा रहेको छ । प्रतिष्ठित पेशाका रुपमा चिनिने डाक्टरी पेशालाई अहिलेका मेडिकल कलेज माफियाहरुले बदनाम बनाईरहेका छन् । विद्यार्थीहरुसँग सरकारले तोकेकोभन्दा चर्को मुल्य लिने तर त्यस अनुसारको शिक्षाको वातावरण नबनाउने भएकाले विद्यार्थीहरु अहिले यसको चौतर्फी विरोधमा उत्रिएका छन् ।

कक्षा कोठामा होईन सडकमा छन् चिकित्सा शिक्षाकालागि मेडिकल कजेल भर्ना भएका विद्यार्थीहरु । पछिल्ला केही महिनादेखि विद्यार्थीहरुले मनपरी मुल्य असुलीको विरोध गरेपछि सरकारले विद्यार्थीबाट असुली गरेको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको थियो । यदि मेडिकल कलेजले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क १५ दिन भित्र फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनी समेत दिएको थियो सरकारले ।

तर, त्यो मिति सोमबार सकिएको छ । सरकारको अल्टिमेटम सकिसक्दा पनि मेडिकल कलेजहरुले भने विद्यार्थीबाट ठगी गरेको शुल्क फिर्ता नदिई सरकारलाई नै ठाडो चुनौति दिईरहेका छन् । यता, कलेजले चर्को शुल्क असुलेको भन्दै केही महिना यता सडकमा प्रदर्शन गरिरहेका भएपनि सरकारले १५ दिने अल्टिमेटम दिएपछि थोरै शान्त भएका चितवन मेडिकल कलेज र नेशनल मेडिकल कलेजका विद्यार्थीहरु सोमबारबाट फेरी सडकमा उत्रेका छन् । अहिले त झन् अभिभावक समेत मेडिकल कलेजको ठगी धन्दाका विरुद्ध सडक प्रदर्शनमा आएका छन् ।

तर मेडिकल कलेजका सञ्चालकको दादागिरी कहाँसम्मको छ भने उनिहरुको ठगी धन्दाका विरुद्ध आवाज उठाउनेलाई उनिहरुले ज्यानमार्ने धम्की दिईरहेका छन् । मेडिकल कलेज सञ्चालकहरुले उनीहरुको ठगी धन्दाको विरोध गर्नेहरुलाई कुटपिट गर्नु त उनीहरुकालागि सामान्य जस्तै भइसकेको छ । राजनीतिक पावरमा रहेका केही निश्चित नेताहरुको छत्रछायाँमा संरक्षित उनीहरुले कानुनलाई नै हातमा लिई मनपरी ठगी गरिरहेका छन् ।

विद्यार्थीलाई दिनहुँ खुलेयाम लुटिरहेका छन् मेडिकल कलेजहरुले तर यसबारे प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनहरु खुलेर बोलिरहेको पाईदैन । औपचारिकता पुरा गर्नकालागि कहिलाकाँही चर्को शुल्क असुलीको विरोध गरेजस्तो गर्ने तर आन्तरिक रुपमा आफ्ना आसेपासेलाई छात्रवृति दिलाउने कोटामा विद्यार्थी संगठनहरुले पनि पिडित विद्यार्थीका आवाजलाई बलियो बनाउने अभियानमा साथ दिएको पाईदैन । यसले विद्यार्थी राजनीतिको वास्तविक अर्थलाई नै नामेट पार्दै गएको त छ नै शिक्षा क्षेत्र ठगी धन्दा चलाउने एक उपयुक्त अखडा पनि बन्दै गएको छ ।

राजनीतिक पावरमा भएकाहरुको छत्रछायाँमा चल्ने मेडिकल कलेज, विद्यार्थीलाई लुट्नकालागि छुट दिदै चुपचाप बस्ने प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनहरु र कारबाहीको प्रष्ट व्यवस्था हुँदाहुँदै पनि यसो हप्काए जस्तो मात्रै गरी नागरिकका आँखामा छारो हाल्ने सरकारको प्रवृति थप झाङ्गिदै गएको छ । यस्तै प्रवृति रहिरहे समृद्ध नेपालको परिकल्पना त परको कुरा देशको अहिलेको अवस्थापनि केही वर्षपछि खस्किदै जाने निश्चित छ । त्यसैले सरकारले “तै काले मै काले मिली मिली खाउँ भाले” भन्ने उखानलाई आफूमा लागू गर्ने चरित्र त्यागोस र मेडिकल शिक्षा मात्र होईन समग्र शिक्षा क्षेत्रमा भएको विकृतिलाई हटाउन खुट्टा नकमाओस ।

साथै विद्यार्थी राजनीतिका मुद्दा के हुन् भनेर नीतिगत र नैतिक सबै पाटोकाबारे थोरै सचेत भई आफ्नो राजनीतिक धर्मका आधारभुत पाटोलाई बलियो तवरले निभाउँन विद्यार्थी राजनीतिको आवरण ओड्नेहरु नचुकुन । विद्यार्थी राजनीति गर्नेहरुले मेडिकल शिक्षामा विकृतिको समस्या राजनीतिक चर्चा र बहसको विषय नभई समृद्ध मुलुक निर्माणको यात्रामा एक ठुलो अवरोध हो, यो पार्टी— पार्टी वीचको सैदान्तिक मतभेद नभई सबै विद्यार्थीको साझा मुद्दा हो भन्ने बुझी एक जुट भएर यस्तो विकृतिलाई हटाउने अभियान चालुन् ।

प्रतिक्रिया