बिहीबार, वैशाख १३, २०८१

दूरसञ्चार प्राधिकरणले सातै प्रदेशमा शाखा खोल्दै

नेपालखोज २०७७ साउन ८ गते १५:०३

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटै प्रदेशमा शाखा कार्यालय खोल्ने भएको छ । हालसम्म काठमाडौंमा मात्रै कार्यालय रहेको प्राधिकरणले चालु आर्थिक वर्षभित्रमा सबै प्रदेशमा शाखा कार्यालय विस्तार गर्ने योजना अगाडि सारेको हो ।

हालै सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृत प्राधिकरणको वार्षिक कार्यक्रम मार्फत शाखा कार्यालय स्थापनाको परियोजना अगाडि बढाइएको छ । जसअनुसार आउँदो कात्तिकसम्ममा सम्भावित शाखा कार्यालय स्थापना गर्ने स्थानको पहिचान गरिने र फागुन मसान्तसम्ममा कार्यालय स्थापनाको काम सम्पन्न गरिसक्ने प्राधिकरणको लक्ष छ ।

नियामकको नियमित कार्यक्रम अन्तर्गत अगाडि सारिएको प्रादेशिक कार्यालय स्थापना गर्ने परियोजनाका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

प्राधिकरण अन्तर्गतका परियोजना व्यवस्थापन गर्न, सेवाग्राहीका गुनासो संकलन गर्न, स्थानीय स्तरमा आवश्यक समन्वय गर्न र दूरसञ्चार सेवाको अनुगमनको सहजताका लागि शाखा खोल्ने योजना अगाडि बढाइएको प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया