निषेधाज्ञा उल्लंघन गर्ने २९१ सवारीसाधन प्रहरीको नियन्त्रणमा
काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये २ सय १५ वटा गाडी र ७६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ४ सय ७२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १३ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ सय ७२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४४ वटा सचेतना मूलक कार्यक्रम अन्तर्गत ४ हजार १ सय ८७ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
प्रतिक्रिया