बिहीबार, वैशाख १३, २०८१

सुरक्षित उडानको तयारी गर्दै नेपाल एअरलाइन्स

नेपालखोज २०७७ साउन ९ गते ११:२६

काठमाडौं । लामो समय बन्द रहेको हवाई उडान भदौ १ गतेदेखि सुचारु हुने भएको छ  । चैत ७ गतेदेखि आन्तरिक र ११ गतेदेखि अन्तराष्ट्रिय हवाई उडान बन्द गरिएको थियो । मुलुकमा लकडाउन अन्त्य भएसँगै सरकारले भदौ १ गतेदेखि नियमित उडान भर्न अनुमति दिएको छ ।

सरकारले नियमित उडान सुचारु गर्न अनुमति दिएपछि एअरलाईन्सहरु पनि त्यसको तयारीमा जुटेका छन् । नियमित उडान सुचारु गर्ने भनिए पनि कोरोना संक्रमणको जोखिम भने झन् बढी रहेका बेला लामो समय बन्द पछिको उडान कसरी सुचारु गर्ने भन्ने तयारीमा नेपाल नागरिक उड्डयन प्राधिकरण जुटेको छ ।

प्राधिकरणले भदौ १ गतेदेखि खुल्ने उडान व्यवस्थापनमा अध्ययन गर्न विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णको संयोजकत्वमा सबै एयरलाइन्स कम्पनीको प्रतिनिधित्व हुने गरी कमिटी गठन गरेको छ ।

कमिटीका संयोजक कर्णका अनुसार विमानस्थलमा भिडभाड नहुने गरी जहाज उडान तथा अवतरणको तालिका नै परिवर्तनको तयारी भइरहेको छ । यसको अभ्यास सुरु भइसकेको र सम्भवत भदौ १ गते अगावै तालिका निर्धारण भइसक्ने उनले बताए ।
कमिटीलाई अध्ययनको लागि एक साताको समय दिइएको र कमिटीको रिपोर्टका आधारमा उडान सुरु हुने प्राधिकरणले जनाएको छ । पहिलो चरणमा बढीमा २५ प्रतिशत प्राथमिकताको सेक्टरबाट उडान गर्ने तयारी प्राधिकरणको छ ।
यसअघि संक्रमणको दर उच्च रहेका देशहरुमा उडानमा प्रतिवन्ध लगाउने तथा अनअराईभल भिसामा रोक लागाउने गरिएको थियो । यस किसिमको प्रतिबन्धका विषयमा भने हाल तय भइनसकेको संयोजक कर्णले बताए ।

लामो समय उडान भर्न नपाउँदा ठुलो नोक्सानी व्यहोरेका एअरलाइन्स पनि उडान कसरी गर्ने भन्ने तयारीमा जुटेका छन् । नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले नियमित उडान बन्द रहँदा पनि नेपाल एअरलाइन्सले उद्धार उडान गरिरहेको भन्दै सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गर्नेगरी नियमित उडानको तयारी भइरहेको जानकारी दिइन् ।

हाल विश्वभर नै कोरोना महामारीको संक्रमण बढ्दो रहेको छ । जसका कारण उक्त देशहरुले लकडाउन तथा अन्य देशसँगको आवागमनमा प्रतिबन्ध कायमै राखेका छन् । जसका कारण नियमित उडान सुचारु गरिए पनि तत्काल सिमित उडान मात्रै हुने भन्दै व्यवस्थापनमा सहज हुने नेपाल एअरलाइन्सका प्रवक्ता खड्काको भनाई छ ।

यसअघि विदेशबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले हवाई उडानसँगै सम्पुर्ण क्षेत्र ठप्प पारी लकडाउन गरेको थियो । यसरी नियमित हवाई उडान नहुँदा विदेशमा अलपत्र नागरिकहरु तेव्बर बढी भाडा तिरेर फर्कन बाध्य छन् । भने रोजगारीका लागी जानुपर्ने युवाहरु पनि रोकिएका छन् । उडान नहुँदा पर्यटन क्षेत्र पनि प्रभावित छन् भने एअरलाइन्सहरु अर्बौ घाटा व्यहोर्न बाध्य छन् । आर्थिक क्षेत्रलाई चलायमान बनाउन लचिलो देखिएको सरकारले पर्याप्त तयारी नगरी लकडाउन खोलेको भन्दै विज्ञहरुले आलोचना गरेका छन् । यस्तो अवस्थामा हवाई यातायात संचालन हुँदा सावधानी नअपनाए यसले पनि जोखिम निम्त्याउने निश्चित प्राय छ ।

प्रतिक्रिया