रञ्जन कोइराला सम्बन्धी पुनरावलोकन मुद्दा भोली सुनुवाइ हुने
काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि भोली सुनुवाइ हुने भएको छ ।
यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन भोली पेशीमा चढ्ने सर्वोच्च अदालतले स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनुवाइ हुनेछ ।
पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ हुनेछ । पूर्व डीआईजी रञ्जन कोइरालाले २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए ।
सो मुद्दामा जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वोच्च अदालतले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।
सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् । सर्वोच्चको सो फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

प्रतिक्रिया