सुदुरपश्चिमका ४८६ विपन्न परिवारलाई नयाँ घर
बैतडी । जनता आवास कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन् ।
सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो ।
भवन डिभिजन कार्यालय बैतडीमार्फत आर्थिक वर्ष २०७६–७७ मा रु १० करोड तीन लाखको लागतमा बैतडी, दार्चुला र बझाङमा ४८६ घर निर्माण गरिएका हुन् । तीमध्ये बैतडीमा २८५, दार्चुलामा १०१ र बझाङमा १०० घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीका लेखा अधिकृत प्रेमराज अवस्थीले बताए ।
उनकाअनुुसार सो घर निर्माणका लागि बैतडीमा रु पाँच करोड सात लाख चार हजार, दार्चुलामा रु एक करोड ५५ लाख र बझाङमा रु दुई करोड पाँच लाख ६ हजार खर्च भएको छ । निर्माण भएका सबै घर भूकम्प प्रतिरोधी रहेका कार्यालयले जनाएको छ । चालू आवमा थप घर निर्माण हुने बताइएको छ ।
प्रतिक्रिया