बुधबार, वैशाख १२, २०८१

तोकिएकै समयमा निर्वाचन हुन्छ : सुभाषचन्द्र नेम्वाङ

नेपालखोज २०७७ माघ ३ गते १६:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुभाषचन्द्र नेम्वाङले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् ।

शनिबार काठमाडौंको तीनकुनेस्थित रोयल व्याङ्क्वेटमा नेकपा प्रदेश १ को प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै स्थायी कमिटी सदस्य नेम्वाङले वैशाख १७ र २७ गते नै निर्वाचन हुने बताएका हुन् ।

साथै उनले वर्तमान सरकारले संविधान अनुरुप नै काम गरिरहेको बताए । प्रतिनिधिसभा विघटनपछि सरकारले गरेका काममा प्रश्न उठाइएको भन्दै उनले सरकार संविधान अनुसार नै कार्यरत रहेको दाबी गरे ।

संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्ने व्यवस्था गरेको बताउँदै उनले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेल वर्तमान मन्त्रीपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको बताए ।

निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी नहुँदासम्म सरकारले सम्पूर्ण काम गर्न पाउने उनको भनाई छ ।

प्रतिक्रिया