रञ्जन कोइरालाको सजाय घटाइएको फैसला पुनरावलोकन हुने
काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाको कैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ ।
महान्यायाधीवक्ताको कार्यालयले विहिबार पुनरावलोकन हुनुपर्छ भन्दै निवेदन दर्ता गरेको थियो । उक्त निवेदनमा सुनुवाई गर्दे न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको फैसला पुनरावलोकन गर्न अनुमति दिएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताए ।
सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।
जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले उनको कैद सजाय घटाउने फैसला गरेको थियो । महान्यायाधीवक्ता कार्यालयले उक्त फैसला त्रुटीपूर्ण हुनुका ८ वटा आधार कारण देखाएको छ ।

प्रतिक्रिया