सोमबार, असार १६, २०८२

एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन, काराेबार ठप्प

नेपालखोज २०७७ साउन १२ गते १४:४९

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५ सयले वृद्धि भएको छ ।

गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय तथा चाँदीको मूल्य प्रतितोला ७ सय ७५ कायम भएको थियो ।

यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला ४ सय ३५ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला १ हजार २ सयले बढेको छ ।

महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय ६० तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताए । सुन प्रतितोला झण्डै एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनकाे भनाइ छ । रासस

प्रतिक्रिया