शुक्रबार, वैशाख १४, २०८१

सगरमाथा क्षेत्रका पर्यटक दोब्बरले ह्रास

नेपालखोज २०७७ साउन १५ गते १३:४९

सोलुखुम्बु । गत आर्थिक वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब ५० प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भए पनि आर्थिक वर्ष २०७६/७७ मा ३२ हजार ६ सय ३७ ले मात्र भ्रमण गरेका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार गत आवमा ३१ हजार ५ सय ३५ विदेशी र १ हजार १ सय २ नेपालीले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् जसमा १ हजार १ सय ६७ सार्क राष्ट्रका पर्यटक छन् । भ्रमण वर्ष २०२० को शुरुआती चरणमै कोरोना भाइरसको जोखिम उच्च भएपछि पर्यटन क्षेत्रमा ठूलो असर परेको टानका प्रथम उपाअध्यक्ष चोलेन्द्र कार्कीको भनाइ थियो । सोही कारण सगरमाथा क्षेत्रमा आउने पर्यटकको सङ्ख्यासमेत दोब्बरले घटेको व्यवसायीको भनाइ छ ।

आर्थिक वर्ष २०७५/७६ मा ५७ हजार २ सय ९८ ले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भएपनि गतवर्ष यसको सङ्ख्या करिब दोब्बरले घट्नका पछाडि कोरोना भाइरसको महामारी प्रमुख रहेको छ । यसैबीच सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७६/७७ मा  साढे नौ करोड रूपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा निकुञ्ज क्षेत्र भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य गतिविधिबाट नौ करोड ५७ लाख ६० हजार ९ सय ९४ रूपैयाँ राजश्व सङ्कलन भएको हो ।

वन रोयल्टीबाट नौ करोड ४२ लाख ४३ हजार ९ सय ६१ रूपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट ४ लाख ८  हजार, वन क्षेत्रको रोयल्टीबाट १० लाख ९२ हजार ८ सय २ सङ्कलन भएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका प्रमुख भूमिराज उपाध्यायका अनुसार १६ हजार २ सय ३० रूपैयाँ बेरुजु असुली गरिएको छ ।

निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको जोरसल्ले र काठमाडौंको भृकुटीमण्डपमा काउण्टर स्थापना गरेर राजश्व सङ्कलन गरिरहेको छ । कार्यालयका अनुसार नाम्चेस्थित कार्यालयबाट ८ करोड ५६ लाख ११ हजार ९ सय ९४ रूपैयाँ र काठमाडौँ भृकुटीमण्डपस्थित काउन्टरबाट १ करोड १४ लाख ९ हजार सङ्कलन भएको छ । निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक ३ हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट १ हजार ५ सय शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेवापत रु तीन हजार अवतरण शुल्क लिने गरिएको प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।  रासस

प्रतिक्रिया