अब रातको समयमा काठमाडौं आउन नपाइने
काठमाडौं । आजबाट राती काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने भएको छ । देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउने यात्रुबाट कोरोना संक्रमण फैलिएको भन्दै सरकारले आज बिहीबारदेखि रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै अवदेखि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकाका नाकामा पूर्ण रुपमा आवागमन बन्द गराइएको जानकारी दिएका हुन् ।
गृह मन्त्रालयले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएलगतै गृह मन्त्रालयले यो कदम चालेको हो ।
विज्ञप्तिमा भनिएकाे छ- ‘काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड–१९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरूमा कोभिड–१९ पोजिटिभ पाइएकाले नाकाहरूको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यक व्यवस्था हुन, अर्काे आदेश नभएसम्मका लागि अत्यावश्यक सेवा र ढुवानीबाहेक आज मिति २०७७/०४/१५ गतेदेखि लागू हुने गरी प्रत्येक दिन साँझ ७ः०० बजेदेखि बिहान ७ः०० बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश नाकामा यात्रुहरूको आवागमन पूर्ण रूपमा बन्द गराउन, काठमाडौं उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयहरूले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्णरूपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरूमा विशेष निर्देशन जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि हार्दिक अनुरोध छ ।’
प्रतिक्रिया