कैलालीका बाढी पीडितको विचल्ली, सडकमा बस्न बाध्य

नेपालखोज २०७७ साउन १७ गते ९:३४

काठमाडौं । नेपालमा बाढी तथा पहिरोबाट वर्षेनी ठुलो जनधनको क्षति हुने गरेको छ । यस वर्ष जेठ ३० गतेदेखि नेपालमा प्रवेश गरेको मनसुनले हालसम्म धेरै क्षति गरि सकेको छ । यो अवधिमा विशेषगरी पहिडी भू– भाग पहिरोबाट बढी प्रभावित बनेका छन् भने तराई क्षेत्र डुबानमा परेका छन् ।

लगातारको वर्षासँगै आएको बाढीले कैलालीमा वितन्डा मच्चाएको छ । हरेक वर्ष वर्षायाममा डुबानको समस्या झेल्दै आएका कैलालीबासीलाई यस वर्ष पनि बाढीले दिनु दुःख दिएको छ । सुखमा सबैसँगै भएपनि विपत्तिमा कोही नभएको बाढीपीडित नागरिकको गुनासो छ । प्राकृतिक विपत्तिलाई कसैले रोक्न नसके पनि विपत्तीको बेला आफ्ना जनप्रतिनिधिसमेत नआएको अधिकांशको पीडितको गुनासो छ ।

कैलालीको भजनी नगरपालिका सोनाफाटाका बाढी पीडित भन्छन्, ‘यति ठुलो महाविपत्ति आफुहरु माथि आइलाग्दासमेत सरकारका जनप्रतिनिधि कानमा तेल हालेर बसेका छन् ।’ ‘हामीहरु दुई तिन दिनदेखि खुल्ला आकाशमुनि बस्न बाध्य छौँ । कसैकसैसंग त्रिपाल छ भने कसैकसैसंग त त्यो पनि छैन् । हामीलाई राहत दिन त परै जाओस स्थानिय जनप्रतिनिधि हेर्नसम्म आएका छैनन् ।’

बाढीले घर बगाएका पीडितहरु यतिबेला खुल्ला आकाशमुनि पाल टाँगेर बसिरहेका छन् । उनिहरु सामान्य पालमुनि बसिरहेका छन निरन्तर वर्षा भइरहेको छ । विभिन्न संघसंस्थाहरुले राहतस्वरुप केही चाउचाउ अनि पानी बाँडेको भइपनि सरकारका तर्फबाट आफुहरुले केही राहत नपाएको पीडितहरुको गुनासो छ ।

लगातारको बर्षा पछि आएको बाढीले विशेषगरि कैलालीको पूर्वी क्षेत्र भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालीका र जानकी गाउँपालिका बढी प्रभावित बनेका छन् । बाढीका कारण कैलालीका करिब ६ हजार ३ सय २० घर प्रभावित भएका छन् । भने अझै करिब ३ हजार परिवार आफ्नो घरमा बस्न नसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।

बाढीमा परि ६ जना बेपत्ता भएका थिए । जसमध्ये ३ जनाको सकुशल उद्धार गरिएको छ भने तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।  बाढी पीडितहरु यतिबेला कोहि सडकमूनि पाल टागेर बसिरहेका छन भने कोही आफन्त कहाँ त कोही स्कूलहरुमा ।

आफुहरुको गास र बास दुई बाढीले बगाएर लिएको यो अवस्थामा सरकारका तर्फबाट कुनै सहयोग नपाएको बाढी पीडितको गुनासो आइरहदा पीडित परिवारहरु यतिबेला सुरक्षित स्थानमा रहेको र एकद्वार नीतिबाट राहत तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय निकाय जुटेको सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले बताएका छन् ।

बाढीले विशषगरी कैलालीका धेरै क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन् । जसमा परि वर्षेनी थुप्रैले ज्यान पनि गुमाउनु पर्छ भने धेरै परिवार घरवारबिहीन हुन्छन् । बाढीबाट विशेषगरी विपन्न परिवार अति प्रभावित भएको देखिन्छ । यसअघिको बाढीले घरबार बगाएर बासविहीन बनेका कतिपय परिवारले अझै घर बनाउन सकेका छैनन् जसले गर्दा उनीहरु चैत वैशाखको घाम होस या पुषमाघको जोडोमा पनि त्रिपालमुनी बस्न बाध्य छन् ।

अहिले बाढी पीडितका लागी विभिन्न अर्गनाइजेशनहरुले बढी प्रभावितहरुलाई जे आवश्यक छ त्यसको आधारमा सहयोग गर्ने तयारी गरिरहेको र घटनास्थलमा जान सक्ने स्थिति नभएकाले नेपाली सेना सशस्त्र प्रहरीको सहयोगमा राहत तथा उद्धारको कार्य भइरहेको नेपाल रेडक्रस सोसाइटी कैलालीका सचिव लोकराज जोशीले बताए ।

सरकारले बाढीपीडितको अझै व्यवस्थापन गर्न नसकेको चौतर्फी गुनासो आइरहेको छ । हरेक वर्र्ष यसैगरी बाढी आउँछ गरीब निमुखाको घर बगाएर लगिदिन्छ तर सरकार मुखदर्शक बनी खाली आश्वासन दिएर जाने गरेको छ । कैलालीमा विशेषगरी ठुलो पानी पर्दा पानीको उचित निकासका लागी ढल व्यवस्थापन हुन नसक्नु नै अधिकांश घरहरु डुबानमा पर्नुको प्रमुख कारण हो । जम्मा भएको पानी ढलसम्म जान नपाएका कारण प्रत्येकका बस्ती बस्तीमा पानी पसेको छ । सडक निर्माण गर्दा ढल निकासको व्यवस्थापन हुन नसक्दा कैलालीका विभिन्न क्षेत्रका घर डुबानमा परेका छन् । गरीब निमुखालाई आश्वासन मात्रै नदिइ बेलैमा ढल निकासको व्यवस्थापन र बाढीको उच्च जोखिम ठाउँको पहिचान गरी समयमै त्यसको व्यवस्थापन गर्न सके कैलालीका धेरै परिवार वर्षेनी घरबार विहीन हुनबाट जोगिने छन् ।

प्रतिक्रिया