रामकृष्ण बान्तावाको ‘कोभिड–१९ ले सिकाइदियो’
काठमाडौं । बहुप्रतिभाका धनी लेखक तथा गीतकार रामकृष्ण बान्तवाले कोरोना महामारीमा आधारित रहेर रचना गरेको ‘कोभिड–१९ ले सिकाइदियो’ गीति भिडियो सार्वजनिक भएको छ । हङकङलाई लामो समयदेखि कर्मथलो बनाएका बान्तवा एक परिपक्व लेखक पनि हुन् ।
कोरोना महामारीले विश्वलाई आक्रान्त पारिरहेका बेला यसबाट बच्ने उपायको सन्देशमूलक गीति भिडियो उनले सार्वजनिक गरेका छन् । उक्त म्यूजिक भिडियोमा सुरेश चन्द, महेश शिल्पकार र सीएल शर्माको आवाज रहेको छ भने संगीत सीएल शर्माले नै दिएका छन् । भिडियो चाहिँ फुटेज संकलन गरेर निर्माण गरिएको छ ।
पुष्कर सुनुवारले एरेन्ज तथा वीरेन्द्र धामीले छायांकन र सम्पादन गरेको उक्त भिडियो महेश शिल्पकारले आफ्नै युटुब च्यानलमार्फत् सार्वजनिक गरेका छन् ।
आभा, धुवाँ र आवाज गीति संग्रहबाट २ दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका बान्तवा लामैसमयपछि पुनः सांगितीक क्षेत्रमा देखापरेका हुन् । आभा मुकारुङको स्वरमा ‘कता हिँडेको’ गीत निकै चर्चित पनि भएको थियो । त्यस्तै, उनले रचना गरेका ‘कुनै फुल जस्तो लाग्यो, यति चोखो मेरो माया, माथि रह्यो तारे भीर, भाग्छन् लोग्ने मान्छे’ आदि गितहरु पनि लोकप्रिय छन् ।
सर्जक बान्तवा भन्छन्, ‘कोरोनाको महामारीमा हामी सवैले भोग्नु दुःख भोग्यौं । कोरोनाबाट बच्ने उपायलाई कसरी सवैमाझ पुर्याउनु भन्ने लाग्यो । मेरी श्रीमती पनि यही चाहान्थिन् । उनकै प्रेरणाले लेख्ने जाँगर चलेको हो । रचनामार्फत् दर्शक तथा स्रोताको आत्मवल तथा सकारात्मक सोचलाई मलजल गर्ने प्रयास गरेको छु । गीत नलेखेको चाहिँ १० वर्ष भइसकेछ । अन्य रचनाहरु त आइरहेकै छन् ।’
करिब ३२ वर्षअगाडिदेखि सिर्जनामा लागेका बान्तावाका आधा दर्जनभन्दा बढी कृति प्रकाशन भइसकेका छन् । उनको उत्कृष्ट उपन्यास ‘सघन तुवाँलो’ निकै चर्चित मानिन्छ । यो अंग्रेजी भाषामा समेत अनुवाद भएको छ । अघिल्लो वर्ष उनले ‘आमालाई चिठी’ नामक कृति बजारमा ल्याएका थिए ।
प्रतिक्रिया