तनहुँमा मास्क प्रयोग नगर्नेलाई कारवाही गरिँदै
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्नेलाई कारवाही गर्न थालेको छ । मास्कको प्रयोग नगरी हिड्ने तथा सवारी साधन चलाउनेलाई कारवाही गर्न थालेपछि मास्कको प्रयोग गर्ने बढेका छन् ।
बन्दाबन्दी खुलेसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको पछि सामान्य सावधानी अपनाउँदा संक्रमणबाट जोगाउनका लागि मास्कको प्रयोगमा जोड दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
छ दिनको अवधिमा चार सय ५६ जनालाई कारबाही गरी प्रति व्यक्ति एक सय रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले जानकारी दिए । पौडेलकाअनुसार तीन दिनसम्म दैनिक एक सय जना भन्दा बढी कारवाहीलाई कारवाही गरिएको थियो ।
बुधबार एक सय, बिहीबार ७२, शुक्रबार ५८, शनिबार एक सय, आइतबार एक सय र सोमबार २६ गरी चार सय ५६ जनालाई कारवाही गरिएको उनले बताए । कारबाहीमा परिने डरले मास्क लाउने बढेसँगै जरिवाना तिर्नेको संख्या घट्दै गएको उनको भनाई छ । कारवाही गर्नु अघि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय तनहुँको समन्वयमा एक सातासम्म मास्क प्रयोग गर्न सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया