आज रोपाईँ जात्रा मनाइँदै

नेपालखोज २०७७ साउन २१ गते ८:११

काठमाडौं । आज रोपाईँ जात्रा मनाइँदै छ । रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो ।

धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ) मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् ।

रोपाईं जात्रा मनाउने तरिका
रोपाईं जात्रालाई कर्णाली अञ्चलका जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलनअनुसार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर जुम्ला जिल्लामा रोपाईं जात्रालाई चोपाइ भनिन्छ ।

यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जस्को घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाईंजात्रा गरिन्छ । चोपाइ गराउने व्यक्तीले आफ्नो खेतको रोपाईंको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ । नेपालको मध्य पश्चिम र सुदूर पश्चिममा रोपाईं गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ ।

रोपाईं जात्रामा पुल्तीको ठुलो महत्व हुन्छ । खास गरेर पुल्ती रोपाईं गर्नेका चेलीहरूले राख्ने प्रचलन छ । जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखे पछि नव विवाहीत वर वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ । त्यसपछि तिनलाई अक्षेता र दुबो लगाएर बाहिर पठाइन्छ । त्यसपछि पुल्ती राख्ने चेलीले दुबैहातमा बिउ लगेर पुल्ती वरीपरि नगराको तालसँगै नाचेर चोपाइको लागी नव विवाहीत दुलाहाको बुवा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन् ।

चोपाइको आमन्त्रण गर्ने बेलामा असारेगित गाउँछन् । यसरी चोपाइको आमन्त्रण पाएपछि गाउँका तन्नेरीहरूले दुलहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउछन् । प्राय रोपाईं जात्रामा रोपाईंको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ । रोपाईंजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ ।

प्रतिक्रिया