अत्यावश्यक बैठक मात्रै राख्न कर्मचारी यूनियनको अनुरोध

नेपालखोज २०७७ साउन २१ गते २०:३८

काठमाडौं । संघीय संसद सचिवालय कर्मचारी यूनियनले कोरोना जोखिमका कारण तत्कालका लागि संसदीय समितिहरूको अत्यावश्यक बैठक मात्रै राख्न आग्रह गरेको छ।

“कोरोना भाइरसको संक्रमण बढ्दै गएको तथा पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरू बढ्दै गएकाले जोखिम कम गर्नका लागि समितिहरूको बैठक तत्कालका लागि अत्यावश्यक बाहेक स्थगित गरी वैकल्पिक माध्यमको प्रयोग गरी छलफल गर्ने तथा बैठक नै गर्नुपरे स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा प्रयोग गर्न संसद सचिवालयका महासचिव र सभापतिहरुलाई अनुरोध छ,” अपीलमा भनिएको छ।

यूनियनका अध्यक्ष मेघराज अर्यालले छलफल गर्ने विषयहरू त धेरै भएपनि त्यसको प्राथमिकीकरण गर्न र वैकल्पिक माध्यमहरूको प्रयोग गर्न अनुरोध गरिएको बताए। “हामीले आज सबै समितिको सचिवालयमा अपील दिएका छौं, कतिपय समितिका सभापतिज्यूहरुलाई पनि भेट्यौं, सबैले सकारात्मकरुपमा लिनुभएको छ,” उनले भने।

कर्मचारीहरूलाई पनि अत्यावश्यक बाहेक आफ्नो शाखा बाहिर ननिस्किन तथा शाखाबाट प्रदान गरिने सेवाहरू उचित सावधानीका साथ प्रदान गर्न भनिएको छ। यसअघि सो अपील सभामुख र राष्ट्रियसभाका अध्यक्षको सचिवालय र संसद सचिवालयका महासचिवलाई पनि प्रदान गरिएको यूनियनले जनाएको छ।

प्रतिक्रिया