चैतदेखि असार मसान्तसम्म एक सय स्थानकाे खानेपानी चुहावट मर्मत

नेपालखोज २०७७ साउन २३ गते १३:४८

काठमाडाैं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले चैतदेखि असार मसान्तसम्म झण्डै १ सय स्थानमा चुहावट मर्मत गरेको छ । सरकारले जारी गरेको बन्दाबन्दीको अवधिमा मुख्य सडकका ठूला चुहावट भएका स्थानमा मर्मत गरिएको हो ।

सामान्य अवस्थामा भित्रि सडकभन्दा ठूला सडकमा मर्मत गर्न कठिन हुने गरेको थियो । बन्दाबन्दीको समयमा सवारी साधनको चाप कम भएकाले कोटेश्वर, बानेश्वर, थापाथलीलगायतका व्यस्त सडकमा मर्मतको काम भएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताए ।

उनका अनुसार लिमिटेडले हाल पानी वितरण भइरहेका १ सय वर्षभन्दा पुरानो पाइपलाइनको मर्मत गरिरहेको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी असारभित्रैमा उपत्यकामा झार्ने तयारी भएकाले पनि लिमिटेडले मर्मतलाई तीव्रता दिएको थियो । उनले भने, “पाइप मर्मत हाम्रो नियमित काम भए पनि अहिले लकडाउनमा यसलाई तीव्रता दिइएको छ ।”

बन्दाबन्दीको समयमा मर्मत गर्दा सामान्य अवस्थामा सवारी चाप उच्च हुने ठाउँलाई प्राथमिकता दिइएको शाक्यले बताए। मेलम्चीको पानी वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले आवश्यक संरचनाको निर्माण गरिसके पनि पानी आएको केही महिनासम्म पुरानो पाइपलाइनबाट काठमाडौं उपत्यकामा पानी वितरण हुनेछ ।

पाइपको परीक्षणको अवधिमा पुरानो पाइपबाट वितरण गर्न लागिएको उनले बताए । मेलम्चीको पानीको मात्रा बढी हुँदा पुरानो पाइपमा धेरै ठाउँमा चुहावट हुनसक्ने भनी मर्मतलाई तीव्रता दिइएको हो । उनले भने, “नयाँ पाइप पूर्णरुपमा सञ्चालनमा आएपछि पुरानो पाइप नचाहने भए पनि अहिले पुरानो पाइपबाटै पानी पठाउन चुहावट सकेसम्म कम गर्न लागिएको हो ।”   रासस

प्रतिक्रिया