आइतबार, वैशाख ७, २०८२

कोरोना कोषमा दुई अर्ब ४० करोड रुपैयाँ

नेपालखोज २०७७ साउन २४ गते ९:०६

काठमाडौं । सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म दुई अर्ब ४० करोडभन्दा धेरै रकम सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार कोषमा अहिलेसम्म दुई अर्ब ४० करोड ७७ लाख ६५ हजार ९ रुपैयाँ ७७ पैसा जम्मा भएको छ । कोषमा हिजो मात्रै ४८ लाख ३५ हजार ७ सय ६४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हिजो ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीले ३४ लाख २३ हजार ६ सय ९८, नेपाल राष्ट्रिय कर्मचारी संगठनले २ लाख १ हजार, सल्यानको छत्रेश्वरी गाउँपालिकाले १ लाख ७८ हजार ४ सय ३०, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले १ लाख ५२ हजार १ सय ४६ रुपैयाँ कोषमा सहयोग रकम जम्मा गरेका छन् ।

त्यस्तै डिभिजन वन कार्यालय डोटीले १ लाख ५ हजार ३ सय ८४ र १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ७ लाख ७५ हजार १ सय ६ रुपैयाँ सहयोग जम्मा भएको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले गएको चैतमा कोष बनाएको हो ।

प्रतिक्रिया