२७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक उद्देश्य राम्रो छैन : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको माओवादी केन्द्रले निष्कर्ष निकालेको हो ।
मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको माओवादीले निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा हाल मतदानमा सहभागी बन्न पाउने सांसद २७१ जना छन् । माओवादी केन्द्रका ५३ जना सांसद भए पनि चार जना पार्टी परित्याग गरेकाले माओवादीसँग हाल सभामुखसहित ४९ जना सांसद मात्रै छन् भने एमालेका १२१ सांसद छन् । काँग्रेसका ६३ मध्ये २ जना (विजयकुमार गच्छदार र अफताब आलम) निलम्बित छन् ।
त्यस्तै, जनता समाजवादीका ३४ मध्ये २ जना (रेशम चौधरी र हरिनारायण रौनियार) निलम्बनमै छन् । साना दलहरूबाट मजदुर किसान पार्टी, राप्रपा र जनमोर्चाका एक–एक सांसद छन् । जसमा गणना हुने सांसदको संख्या २७१ हुन पुग्छ । २७१ मध्ये बहुमतका लागि १३६ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया