विदेशमा अलपत्र ४६ हजारभन्दा बढीको उद्धार

नेपालखोज २०७७ साउन २५ गते २१:५७

काठमाडौं । कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट ४६ हजार तीन सय १२ जनाको उद्धार गरिएको छ ।

सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार पाँच सय एक जनाको उद्धार गरिएको छ । साउदी अरेबियाबाट ६ हजार नौ सय ९७, मलेसियाबाट ६ हजार सात सय ९४, कुवेतबाट ६ हजार तीन सय २९ र कतारबाट पाँच हजार दुई सय ५१ जनाको उद्धार भएको छ ।

अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, म्यानमारबाट २६, थाइल्यान्डबाट तीन सय २६, दक्षिण कोरियाबाट सात सय २०, बंगलादेशबाट आठ सय ४१, माल्दिभ्सबाट सात सय नौ, सिंगापुरबाट दुई सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट नौ सय ८०, अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई सय २९, इजरायलबाट एक सय २७, चीनबाट दुई सय आठ, टर्कीबाट एक सय १० जना स्वदेश फर्किएका छन् ।

त्यस्तै, फिलिपिन्सबाट दुई सय ए जना, स्विट्जरल्यान्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट दुई सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट पाँच जना, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर, स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्यांक यकिन छैन ।

२४६ जनाको शव नेपाल ल्याइयो
विदेशमा विविध कारण मृत्यु भएका दुई सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । एक सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टिका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका चार सय ९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ ।

प्रतिक्रिया