यूएईमा पाँच महिनाकाे अवधिमा १ सय १० जना नेपालीको मृत्यु

नेपालखोज २०७७ साउन २९ गते ११:१७

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा लकडाउन अवधिभर १ सय १० जना नेपालीहरुले ज्यान गुमाएका छन् । गत मार्च ११ देखि अगस्ट ११ सम्म पाँच महिनाको अवधिमा यूएईमा १ सय १० जना नेपालीको ज्यान गएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाउनेमध्ये ५ जना महिला र बाँकी १ सय ५ जना पुरुष छन् ।

जसमा ३६ जना नेपालीहरुले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनु परेको दुतावासले जनाएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका बाहेक अधिकांशको प्राकृतिक, आत्महत्या, दुर्घटना र हत्याको कारण अकालमै ज्यान गुमाउनु परेको छ ।

जसमध्ये ६९ जनाको अन्त्येष्टि परिवारको सहमति तथा दुतावासको अनुमतिमा यूएईमै गरिएको हो भने २६ शव स्वदेश पठाएको दुतावासले जनाएको छ । चारवटा शव नेपाल पठाउने तयारी रहेकाे र  अरू शवको भने विस्तृत रिपोर्ट प्राप्त हुन बाँकी रहेकाे दूतावासले जनाएको छ ।

विश्वमा नै फैलिएको कोरोना भाइरसको संक्रमणबाट रोजगारी गुमाएर अलपत्र परेका, तथा घुम्नका लागि गएका करिब १४ हजार नेपाली फर्काएको यूएईस्थित नेपाली दूतावासको तथ्याङ्कमा उल्लेख छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै फारम भरेकामध्ये अहिलेसम्म ८२ वटा उडानबाट १३ हजार ७ सय ८५ जना नेपाल फर्किएको जनाएको छ ।

प्रतिक्रिया