सोमबार, जेठ ७, २०८१

टेलिकमलाई १८ सय ब्याण्डमा बाँकी फ्रिक्वेन्सी दिन समितिको निर्देशन

नेपालखोज २०७७ साउन २९ गते १२:२४

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमलाई १८ सय मेगाहर्ज ब्याण्डमा पाँच मेगाहर्ज फ्रिक्वेन्सी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले सोमबार नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएर निर्देशन दिएको हो ।

गत शुक्रबार रेडियो फ्रिक्वेन्सी समितिको बैठकले टेलिकमलाई सशर्त पाँच मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय गरेको थियो । यसअन्तर्गत गत पुसमा गरिएको फ्रिक्वेन्सी बोलकबोलमा एनसेलले कबुल गरेको मूल्य तिर्न तयार भएको खण्डमा मात्रै टेलिकमलाई फ्रिक्वेन्सी दिन सकिने भनी शर्त राखिएको छ ।

१८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीका लागि भएको उक्त बोलकबोलमा एनसेलले प्रतिमेगाहर्ज पाँच करोड ८० लाख रुपैयाँ कबुल गरेको थियो । यसको अर्थ अब नेपाल टेलिकमले पाँच करोड ८० लाख रुपैयाँ मूल्यमा बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी किन्न पाउनेछ । निर्णयको आधारमा सोमबार प्राधिकरणलाई निर्देशन सहितको पत्र आएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘प्राधिकरणलाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी रहेको पाँच मेगाहर्ज फ्रिक्वेन्सी टेलिकमलाई दिनु भनी पत्र आएको छ,’ खनालले भने, ‘सँगै त्यसमा टेलिकमले एनसेलले कबुल गरेको मूल्य तिर्न तयार भएको खण्डमा मात्रै दिन सकिने भनी उल्लेख गरिएको छ ।’

सो पत्रको आधारमा प्राधिकरण बोर्डमा प्रस्ताव जाने छ र उक्त प्रस्ताव पास भएपछि टेलिकमलाई त्यसबारे जानकारी गराइने छ । यसअघि भएको बोलकबोलमा टेलिकमले प्रतिमेगाहर्ज पाँच करोड एक हजार रुपैयाँ कबुल गरेर एनसेलसँग हारेको थियो ।

प्रतिक्रिया