बिहीबार, चैत ६, २०८१

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा

नेपालखोज २०७७ साउन २९ गते १२:१५

नयाँदिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उदृत गर्दै मुखर्जी कोमामा गएको जनाएको छ ।

Advertisement

पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच मुखर्जीको मृत्युु भएको भन्ने अफवाहको परिवारले खण्डन गरेको छ । मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भनेकी छिन्, मेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् । खासगरी मिडियालाई मलाई फोन नगर्न आग्रह गर्छु । अस्पतालबाट आउने सूचनाका लागि मैले फोन फ्रि राख्नुपर्ने हुन्छ ।

मुखर्जीका छोरा अभिजितले पनि ट्वीट गर्दै बुवा जीवितै रहेको बताएका छन् । ‘मेरो बुवा प्रणव मुखर्जी जीवित हुनुहुन्छ । रक्तसञ्‍चारमा समस्या देखिएपछि उहाँको अवस्था स्थिर छ । केही सम्मानित पत्रकारबाटै सामाजिक सञ्‍जालमा अड्कलबाजी लगाउने र अफवाह फैलाउने कामबाट भारतका मिडिया फेक न्युजको फ्याक्ट्री बनिसकेको देखिन्छ’ अभिजितले ट्वीटमा लेखेका छन् ।

यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । पूर्वराष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया