ओली दाहालबीच आज पनि छलफल हुँदै

नेपालखोज २०७७ साउन ३० गते ८:२३

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आज पनि छलफल हुने भएकोछ । हिजो दुई अध्यक्षबीच नौ दिनपछि पुनः छलफल भएको थियो । दुई अध्यक्षबीच साउन २० गते यता संवादहीनता देखिएकोमा विहिबार उनीहरुबीच पनः छलफल भएको छ ।

उनीहरुबीच अपराह्न करीब चार घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बैठकमा अन्य सहयोगी नेता नराखी उनीहरुबीच मात्रै छलफल भएको बुझिएको छ ।

यसअघि साउन १९ र २० का छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी भएका थिए । सो भेटवार्तामा उनीहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएकाले स्थगित सचिवालय र स्थायी कमिटीको बैठक बस्ने या नियमित कार्यसूचीमा छलफल भई आन्तरिक विवाद हल हुने आँकलन गरिएको छ ।

गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे नेकपाभित्र विवाद छ । साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको भेलाले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएका छन् । तर विवाद अझै साम्य हुन सकेको छैन् ।

प्रतिक्रिया