बन्द अस्पताल सञ्चालन गर्न माग
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको बिरामी बढ्दै गएकाले बन्द अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १६ ले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनुपर्ने भन्दै सम्बन्ध भएका निकायसँग माग गरेको हो ।
वडाले विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालनको माग गरेको हो । कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण र व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत सबै सम्बद्ध निकायसँग वडा कार्यालयले आग्रह गरिएको वडाध्यक्ष मुकुन्द रिजालले बताए ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल आइसोलेसन निर्माणका विषयमा केन्द्र सरकारले चासो देखाउनुपर्ने बताउछन् ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यलगायत उपत्यका नगरपालिका फोरमले भने उपत्यकाको सबै नाकाबाट नागरिकको आवतजावत बन्द गर्नुपर्ने धारणा मुख्य रुपमा अघि सारेका छन् । अहिले काठमाडौँ उपत्यकामा मात्रै करीब एक हजार ५०० को हाराहारीमा सङ्क्रमित छन् ।
प्रतिक्रिया