बिहीबार, चैत १५, २०८०

सरकार काठमाडौंमा पुन लकडाउन गर

नेपालखोज २०७७ भदौ १ गते १३:०४

चीनको बुहानबाट शुरु भएको कोभिड–१९ का कारण यतिखेर विश्व नै त्राहि–त्राहि बनेर बसिरहेको छ । विगत ६ महिनादेखि नेपालले पनि त्यसको त्रासबाट आफूलाई अलग्याउन सकेको छैन । सरकारले हतारमा चैत ११ गतेबाट शुरु गरेको लकडाउन केही खुकुलो गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्या नदेखिएपछि गरिएको खुकुलोपन र उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्नेहरुको संख्या अत्यधिक बढेसँगै काठमाडौंमा कोभिड–१९ का संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।

सरकारले कोरोना संक्रमण न्यूनीकरण गर्नका लागि शुरुका दिनमा चालेको कदमले काठमाडौं उपत्यकामा त्यत्ति ठूलो सकस नदेखिएको भएपनि त्रासका कारण नागरिकहरु सुरक्षित थिए । तर, लामो समयसम्मको लकडाउनका कारण आर्थिक अवस्था कमजोर भएका जनताहरुको गुजारा टर्न छाडेसँगै सरकारले आर्थिक वर्षको अन्त्यमा कर असुलउपर गर्ने नियतले लकडाउनलाई खुकुलो र नाकामा कडाई नगरेका कारण उपत्यका संक्रमणको उच्च जोखिममा यतिखेर देखिएको छ ।

जसरी अहिले कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ, त्यसरी नै सरकारले जारी गरेको निर्देशन कार्यान्वयन भएको देखिँदैन । अझ उपत्यकाका १८ वटै स्थानीय तहले १५ दिनसम्मका लागि पूर्ण रुपमा सवारी आवागमनमा समेत रोक लगाउन सरकारलाई गरेको सामूहिक आग्रहलाई संघ सरकारले वेवास्ता गरेकै कारण आज अवस्था जटिल वन्दै गईरहेको छ । जनतामा संक्रमण बढ्दै गर्दा सरकार र सत्ताधारी दल भने कुर्सी र पैसाका लागि दौडिरहेको देखिन्छ ।

कसरी हुन्छ बढी कमिशन असुल्ने भन्नेमा नै देखिएको सरकारले यतिखेर कर असुल्ने कार्य सम्पन्न गरिसकेकाले पनि जोखिम न्यूनीकरण र संक्रमितहरुको संख्या बढ्न नदिन काठमाडौंमा पुन पूर्ण रुपमा लकडाउन गर्नु आवश्यक छ । अवको लकडाउनका समयमा विगतमा जस्तो औषधी बिक्री गर्ने, अत्यावश्यक सामग्री बोक्ने, प्रेसका नाममा हुने दुरुपयोगलाई पनि सरकारले रोक्नु आवश्यक छ ।

प्रतिक्रिया