विद्युत् प्राधिकरणको वार्षिक नाफा ११ अर्ब नाघ्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गर्दै वित्तीय विवरण अनुसार प्राधिकरणले उक्त नाफा गरेको हो ।
यसैबीच प्राधिकरणको यसअघि नकारात्मक रहेको सिञ्चित नोक्सान पूरा भएर सिञ्चित नाफा ४ अर्ब ८७ करोड रुपैयाँ पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरुमा निरन्तर नाफामा छ । प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा एक अर्व ४७ करोड, आर्थिक वर्ष २०७४/७५मा २ अर्व ८५ करोड, आर्थिक वर्ष २०७५/७६ मा ९ अर्व ८१ करोड नाफा कमाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणले गत आर्थिक वर्षमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आर्थिक वर्ष सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर घटाएर गत आवबाट नाफा कमाउन सफल भएको उनले जानकारी दिए ।
योबीचमा ग्राहक संख्या अहिले बढेर ४७ लाख ८५ हजार रुपैयाँ पुगेको जनाइएको छ । आगामी २ वर्षभित्र ६० लाख अर्थात् सबै नेपालीहरुको घरमा आधुनिक स्वच्छ उर्जा पुर्याउने लक्ष्य समेत प्रधिकरणले लिएको कार्यकारी निर्देशक घिसिङले बताए । ४ वर्षको अवधिमा विद्युत्को यो पहुँच ७८ प्रतिशतबाट बढेर ८६ प्रतिशतमा पुगेकाे जनाएकाे छ ।
४ वर्षअघि २ हजार ९ सय ११ सर्किट किलोमिटर रहेको प्रसारण लाइन अहिले ४ हजार २ सय ७५ किलोमिटर पुगेको तथा २६ हजार वितरण ट्रान्सफर्मरको संख्या समेत बढेर ३५ हजार ५ सय पुगेको र आगामी ४ वर्षभित्र थप १० हजार ट्रान्सफर्मर थप गरिने योजना रहेको समेत जनाएको छ ।
त्यस्तै, चार वर्षअघि ८ सय १ मेगावाट रहेको विद्युत्को आन्तरिक उत्पादन अहिले १ हजार २ सय ५८ मेगावाट पुगेको, ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भएकोमा ३ हजार मेगावाट विद्युत् निर्माणको चरणमा रहेको जनाइएको छ । अहिले विद्युत्को क्षेत्रमा ५ खर्ब रुपैयाँको थप लगानी सुनिश्चित भएको जानकारी दिए ।
प्रतिक्रिया